पाकिस्तानी तीव्र गतिका बलर सोहिल तनविर चम्किएपछि चितवन राइनाेजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा काठमाडौंबाट ११२ रनको लक्ष्य पाएको छ।
सोमबार कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौं पूरा ओभर खेल्दै नाै विकेट गुमाएर १११ रन मात्रै बनाउन सक्यो।
तनविर एक्लैले सर्वाधिक पाँच विकेट लिए। चार ओभर बलिङि गरेका उनले २१ रन खर्चिएर पाँच विकेट लिएका हुन्। रिजन ढकाल, कप्तान कुशल मल्ल, अमर रौटेला र लुक बेन्केस्टेइनले समान एक विकेट हात पारे।
काठमाडौंले पावर प्लेमै कमजोर प्रदर्शन गर्याे। पाकिस्तानका तनविरले तीन ओभरमा तीनै विकेट लिएपछि काठमाडौंले चार विकेट गुमाउँदा मात्र ३९ रन बनायो। ओपनर स्टेफन इस्किनाजी दुई तथा माइकल लेभिट २५ रन बनाएर आउट भएका थिए। गेहार्ड इरास्मसले चार र भीम सार्कीले एक रन बनाए। टोलीले ५.२ ओभरमा चार विकेट गुमाउँदा मात्र ३४ रन जोडेको थियो।
तनविर सन् २००८ मा राजस्थानलाई आइपिएल र सन् २००९ मा पाकिस्तानलाई आइसिसी टी–२० विश्वकप उपाधि जिताउँदाका खेलाडी हुन् ।
काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९, लेभिटले २५, डन डाउथवेटले अविजित १९ र शंकर रानाले १६ रन लिए। रसिद खान चार, कप्तान करण केसीले एक र दीपेश कँडेलले अविजित एक रन मात्रै बनाएका थिए।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई आठ विकेटले हराएको थियो।
आज हुने दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सको सामना गर्दै छ । यो खेलमा चर्चित खेलाडी भारतीय शिखर धवनले कर्णाली याक्स र न्युजिल्यान्डका जिमी निसमले जनकपुरको प्रतिनिधित्व गर्नेछन् ।