स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १२ मा जारी मतदानमा अहिलेसम्म एक हजार ७६८ मत खसेको छ । वडाध्यक्ष पदका लागि जारी मतदानमा मतदाताहरूको उत्साहजनक सहभागिता रहेको छ । दुई मतदान स्थलको नाै मतदान केन्द्रका मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । बिहान १० बजेसम्मको अवधिमा एक हजार ७६८ मत खसेको हो ।
विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान स्थलको चार मतदान केन्द्रमा ७५४ मत खसेको छ । सो मतदान स्थलमा तीन हजार ६२५ मतदाताले मत दिनेछन् भने प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा चार हजार ४२८ मतदाताले मतदान गर्नेछन् । उक्त मतदान स्थलको पाँच मतदान केन्द्रबाट हालसम्म एक हजार १४ मत खसेको छ ।
हेटौँडा– १२ मा ०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा एक हजार ५८८ मतदाता थपिएर कुल आठ हजार ५३ मतदाता रहेका छन् । जसमध्ये चार हजार ४२८ जना पुरुष र तीन हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेका छन् ।
निर्वाचनका लागि नाैवटा केन्द्रमा ४५ जना कर्मचारी परिचालन गरिएको छ । निर्वाचनलाई भयरहित बनाउन बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । वडा प्रवेशको हरेक नाकामा सुरक्षाकर्मीहरूले कडाइ गरेका छन् भने चारवटै सुरक्षा निकायलाई सूक्ष्म तवरले सूचना संकलन तथा सुरक्षाको सयन्त्र परिचालन गरिएको छ ।
हेटौँडा– १२ को एक वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये दलबाट नाैजना र स्वतन्त्र तीनजना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
दलबाट कांग्रेसका अर्जुनप्रसाद तिवारी, एमालेका राजेश नगरकोटी, माओवादी केन्द्रका रविकुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेसनल अर्गनाइजेसनकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।
०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौँडा– १२ को अध्यक्ष पद रिक्त रहेको थियो ।