डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप हुने

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

लगातार छैटौँपटक झापा गोल्डकप आयोजना भएको डोमालाल राजवंशी रंगशालामा अब पहिलो बिर्तामोड झापा कप फुटबल प्रतियोगिता हुँदै छ । झापा गोल्डकपका संस्थापक अध्यक्ष तथा सहिद स्मारक ‘बी’ डिभिजन लिग झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङको पहलमा २९ मंसिरबाट बिर्तामोड झापा कप हुन लागेको हो ।

६ पुससम्म चल्ने झापा कपमा मोफसलका चर्चित र भारतका दुई वा तीन टिम गरी दशवटा क्लबले सहभागिता जनाउनेछन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।  स्थानीय खेलाडीले झापा गोल्डकपमा अवसर कम पाउने भएपछि झापा कप गर्न लागिएको गुरुङले जानकारी दिएका छन् ।

‘झापा गोल्डकप आयोजना हुँदा घरेलु टोली झापा ११ नै हुनेछ । यस वर्ष झापा गोल्डकप नहुने भएपछि हामीले झापा कप गर्न लागेका हौँ,’ गुरुङले भने, ‘हामी क्लब चलाउने व्यक्ति हौँ, प्रतियोगिता निरन्तर होस् भन्ने पक्षमा छौँ ।’ उनले खेलाडी आबद्ध गरी नियमित तलब दिन नसकिने बताए । ‘बी डिभिजन लिग खेल्ने खेलाडीले झापा गोल्डकप खेल्न पाएनन् भने लगानी गरेको प्रतिफल आउँदैन, त्यसैले झापा कपको अवधारणा अगाडि आएको हो,’ गुरुङले भने, ‘यसलाई निरन्तरता दिनेछौँ ।’

नौ वर्षअघि सुरु झापा गोल्डकप
०७१ भदौमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको एन्फा कपबाट झापा ११ फुटबल क्लब उदाएको थियो । त्यसवेला ‘ए’ डिभिजन क्लबविरुद्ध सनसनीपूर्ण जित निकाल्दै झापा ११ एन्फा कप च्यम्पियन बन्यो । एन्फा कपको सफलताले झापा गोल्डकपको योजना बन्यो र एक वर्षपछि प्रतियोगिता नै भयो । छैटौँ संस्करणसम्म झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भयो । मोफसलको नाम चलेका गोल्डकपमध्ये झापा गोल्डकप एक थियो । झापा गोल्डकपले डोमालाल राजवंशी रंगशालाको नामसमेत चुर्लिएको थियो ।

०७२ मा झापा ११ फुटबल क्लबका अध्यक्ष गुरुङको नेतृत्वमै झापा गोल्डकप भएको थियो । अहिले क्लबमा आन्तरिक द्वन्द्व उस्तै चुलिएको छ । झापा गोल्डकप आयोजनाको अध्यक्षमा गुरुङपछि होम पाण्डे, महेन्द्र गिरी र विनोद बस्नेत भएका छन् । हरेक दुई वर्षमा कार्यकाल परिवर्तन हुने भनिए पनि पाँच वर्षदेखि नेतृत्व हस्तान्तरण भएको छैन ।

‘गोल्डकपको उद्देश्यमा झापा ११ फुटबल क्लबको स्तरोन्नति गर्ने उल्लेख छ । तर, उहाँहरूले बाटो बिराउनुभयो,’ झापा ११ का अध्यक्ष गुरुङले भने, ‘उद्देश्यअनुसार काम हुन सकेन । झापा ११ फुटबल क्लबका लागि उहाँहरूले केही गर्न सक्नुभएन ।’ 

See More On

सुझावित समाचार