एनपिएल : विराटनगरलाई हराउँदै जनकपुरको विजयी सुरुवात

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएलमा विजयी सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किंग्सले १९ ओभरमा अलआउट हुँदै एक सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा ब्याटिङ गरेको जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै जित निकालेको हो। 

जनकपुरको जितमा अमेरिकी खेलाडी लाहिरू मिलान्थाले अर्धशतक बनाए। ३० वर्षीया बायाँ हाते ब्याटर तथा विकेट किपरले ५३ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए। श्रीलंकाको कोलम्बोमा जन्मिएर अमेरिकाको लागि खेलिरहेका लाहिरूले ३९ बलमा ६ चौका र २ छक्कासहित अर्धशतक बनाएका थिए। उनी प्रतियोगितामा अर्धशतक बनाउने दोस्रो खेलाडी हुन्। 

तेस्रो नम्बर क्रिजमा आएका उनले ११.१ ओभरमा अर्धशतक बनाउँदा जनकपुरले २ विकेट गुमाउँदै ८८ रन जोडेको थियो। २७ वर्षीय क्यानेडियन खेलाडी हर्ष थाकरले ३३ बलमा दुई चौकासहित २९ रन बनाएका हुन्। दुई खेलाडीबिच शतकीय साझेदारी भएको थियो। ओपनरद्वय मार्की आसिफ सेख र कप्तान अनिलकुमार शाह १.६ ओभरमा १५ रन बनाउँदा आउट भएपछि लाहिरू र थाकरको जोडीले जितको आधार तयार गरेका थिए। 

यसअघि न्युजिल्यान्डका ३९ वर्षीय अनुभवी ब्याटर मार्टिनले अर्धशतक बनाएपछि विराटनगरले टस हारेर पहिला ब्याटिङ गर्दै सबै विकेट गुमाएर मात्र एक सय २७ रन बनायो। गप्टिलले ४३ बलमा सात चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाए। गप्टिलले ३६ बलमा ७ चौका र एक छक्कासहित अर्धशतक बनाउने पहिलो खेलाडी बनेका थिए। उनी हर्ष थाकरको बलमा कप्तान अनिलकुमार शाहबाट क्याचआउट हुन पुगेका थिए। 

ओपनर गप्टिलले अर्धशतक बनाउँदा विराटनगर १२.१ ओभरमा ८३–३ को अवस्थामा थियो। यसबाहेक अकिब इल्यासले १८ बलमा १५ रन बनाए। दुई खेलाडीबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

ओपनर लोकश बमले ५, निकोलस किर्टनले ९, बसिर अहमदले ७, राजेश पुलामीमगरले १, प्रतीश जिसीले २ तथा कप्तान सन्दीप लामिछानेले ७ रन, क्रिस सोल ४ रन बनाएर आउट भएका थिए। 

टस जितेर बलिङ गरेको जनकपुरको लागि ललितनारायण राजवंशीले तीन विकेट लिए। उनले ४ ओभरमा २८ रन खर्चिएका थिए। उनी नै एनपिएलमा पहिलो विकेट लिने खेलाडी बनेका छन्। ललितले दोस्रो ओभरको पहिलो बलमा विराटनगरका लोकेश बमलाई बोल्ड गरेका थिए। त्यस्तै, किशोर महतो र हर्ष थाकरले समान दुई विकेट हात पारे। बेन माइक र मोहमद मोहसिनले समान एक विकेट लिएका थिए।  

यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भने पनि अन्तिममा नाम फिर्ता लिएको क्यान स्रोतले बतायो। त्यसपछि खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन्। उद्घाटन सत्रमा  राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्यसचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो। 

उद्घाटन सत्रअघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्वीकार गरेका थिए। 
    
८ टिमबिच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ। नेपाल क्रिकेट संघ क्यानले विजेतालाई १ करोड ११ लाख र उपविजेताले ५५ लाख पाउने जनाएको छ। त्यस्तै, तेस्रोले ३० लाख र चौथोले २० लाख पाउनेछन्। 

अब, कीर्तिपुरमा आइतबार निर्वाचन हुने हुँदा कुनै खेल छैन। सोमबार पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइजो तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्ने तालिका छ।

सुझावित समाचार