न्युजिल्यान्डका गप्टिल बने एनपिएलमा अर्धशतक बनाउने पहिलो खेलाडी

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा विराटनगरका मार्टिन गप्टिलले अर्धशतक बनाएका छन्। उनले जनकपुरविरुद्धको उद्घाटन खेलमा ३६ बलमा ७ चौका र एक छक्कासहित ५१ रन बनाएका हुन्।

न्युजिल्यान्डका अनुभवी ब्याटरले अर्धशतक बनाउँदा विराटनगरले १२.१ ओभरमा ८३–३ को अवस्थामा छ। यसअघि जनकपुरका ललितनारायण राजवंशी पहिलो विकेट लिने खेलाडी बनेको थिए।

शनिबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ललितले विराटनगरका लोकेश बमको विकेट लिएका हुन्। उनले दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका थिए। लोकेश र मार्टिन गुप्टिल क्रिजमा आएका थिए। यसअघि जनकपुरले टस जितेर बलिङ गरेको थियो। शनिबार टस हारेको विराटनगर किंग्सले सुरुमा ब्याटिङ गरेको छ। यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका छन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भने पनि अन्तिममा नाम फिर्ता भएको थियो। त्यसपछि खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रअघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्वीकार गरेका थिए। ८ टिमबिच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले विजेताले १ करोड ११ लाख पाउँदा उपविजेताले ५५ लाख पाउने जनाएको छ। त्यस्तै, तेस्रोले ३० लाख र चौथोले २० लाख पाउनेछन्।

सुझावित समाचार