इजरायल र लेबनानबिच युद्धविराम लागू भएपछि बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दा बुधबार घर फर्केका छन् । लामो समयपछि चलिरहेको युद्ध रोक्नेसम्बन्धी युद्धविरामको घोषणा मंगलबार भएको थियो । लेबनानका प्रधानमन्त्री नजिब मिकाटीले बुधबार लागू भएको युद्धविरामको सम्मान गर्दै र इजरायललाई पछि हट्न आग्रह गर्दै देशको दक्षिणी क्षेत्रमा सेनालाई सुदृढ गराउने बताएका छन् । इजरायल र लेबनानको हिजबुल्लाबिचको १३ महिनाको द्वन्द्व रोक्ने सम्झौता मुख्य रूपमा संयुक्त राष्ट्रसंघको १७०१ नम्बर प्रस्तावको कार्यान्वयनमा आधारित छ ।
यसले तिनीहरूको पछिल्लो युद्धलाई सन् २००६ मा अन्त्य गरेको थियो । सम्झौताले लेबनानी सेना र संयुक्त राष्ट्रसंघका शान्तिसेना मात्र दक्षिणी क्षेत्रमा हुनुपर्ने र हिजबुल्लाहको नियन्त्रण रहेको यस क्षेत्रबाट इजरायली सेनाले पछि हट्नुपर्ने व्यवस्था गरेको छ ।
यस युद्धविराम कार्यान्वयनपछि हिजबुल्लाह कार्यकर्ताले भने ‘विजय’ उत्सवसमेत मनाएका छन् । पछिल्लो समयमा इजरायलले दिनहुँजसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको दक्षिण बेरुतको आवासीय क्षेत्रमा विस्थापितहरू एकैचोटि फर्किँदा ट्राफिक जामसमेत भएको एएफपीले जनाएको छ ।
विस्थापित आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर भावुक भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । घर भत्किएकाहरू उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउने समय पर्खिरहेका थिए । स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह नेता सैयद हसन नस्रल्लाहप्रति धन्यवाद व्यक्त गरेको एएफपीले जनाएको छ ।
दक्षिण बेरुत उपनगरले मंगलबारसम्म पनि तीव्र इजरायली हवाई आक्रमण सामना गरेको थियो । युद्धविराम लागू भएपछि आफूहरू घर फर्किएको उक्त उपनगरनिवासी फातिमाले बताइन् । गत वर्ष अक्टोबर सातमा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामाथिको इजरायली आक्रमणविरुद्ध हिजबुल्लाहले सुरु गरेको बमबारीको लगभग एक वर्षपछि युद्धविराम भएको छ । इजरायलले पछिल्लो एक वर्ष लेबनानमा हिजबुल्लाहका गढलक्षित आक्रमण बढाई दक्षिणी सीमापारि सेना तैनाथ गरेको थियो ।
युद्धविराम लगत्तैपछि केही बासिन्दाहरू जुलुस निकाल्दै हेजबुल्लाहका नेता मारिएको स्थानतर्फ भ्रमणमा गएको एएपीले जनाएको छ । यसैक्रममा हिजबुल्लाहका समर्थकहरूले नस्रल्लाह र हासेम सफिद्दिनको तस्बिरहरू हस्तान्तरणसमेत गरिरहेको एएपीले जनाएको छ ।
युद्धविरामको विश्वद्वारा स्वागत
इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाहबिच बुधबार बिहानदेखि लागू भएको युद्धविराम सम्झौतालाई विश्वका नेताहरूले स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र लेबनानबिचको युद्धविरामले इजरायललाई हिजबुल्लाहको खतराबाट जोगाउने र ‘स्थायी शान्ति’को वातावरण सिर्जना गर्ने आशा व्यक्त गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युद्धविरामले तत्कालका लागि हिंसाको अन्त्य गरेको र यो ‘स्थायी शान्ति’मा परिणत हुने विश्वास व्यक्त गरे ।
संयुक्त राज्य अमेरिका र फ्रान्सले ‘युद्धविराम पूर्ण रूपमा कार्यान्वयनको सुनिश्चित गर्न’ सहयोग गर्नेछन् । साथै, तिनले लेबनानी सेनाको ‘क्षमता–निर्माण’का लागि अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व गर्नेछन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति बाइडेनलाई युद्धविराम सम्झौतामा सहजीकरण गरेकोमा धन्यवाद दिए ।
लेबनानका प्रधानमन्त्री नजिब मिकातीले युद्धविराम यस क्षेत्रमा स्थिरता कायम गर्ने दिशामा ‘आधारभूत कदम’ भएको बताए । मिकाटीले युद्धविराममा फ्रान्स र अमेरिकाको पहलकाका लागि धन्यवाद दिँदै दक्षिणमा सेनाको उपस्थितिलाई मजबुत बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको दोहो¥याए ।
यसबिच, हिजबुल्लाह र हमास दुवैको समर्थक इरानले युद्धविराम लागू भएपछि लेबनानमा इजरायलको ‘आक्रामकता’ अन्त्य भएको भन्दै युद्धविरामको स्वागत गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले लेबनानविरुद्ध इजरायलको आक्रामकता अन्त्य भएको खबरलाई स्वागत गर्दै लेबनान, त्यहाँको सरकार र आवश्यक प्रतिरोधका लागि इरानको दृढ समर्थन रहेको बताए ।
चीनले लेबनान र इजरायलको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले ‘तनाव कम गर्ने र शान्ति स्थापनाका लागि अनुकूल सबै प्रयासलाई समर्थन गर्ने’ प्रतिक्रिया दिए । कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानसँग इजरायलले गरेको युद्धविराम सम्झौताको स्वागत गरेको छ । साथै, कतार सरकराले गाजापट्टीमा जारी युद्ध र कब्जा गरिएको पश्चिमी किनारामा इजरायली आक्रमण रोक्ने यस्तै सम्झौता हुने आशा पनि व्यक्त गरेको छ ।