मानव तस्करीमा कोशीका तत्कालीन मन्त्रीलाई उन्मुक्ति, ११ जनाविरुद्ध मुद्दा दायर

सोमबार, १० मंसिर, २०८१
डिजिटल संस्करण

जापानमा मानव तस्करी प्रकरणमा कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लभ अधिकारीलाई सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको छ । प्रहरीले उनीसहित १२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेकोमा उनीबाहेक अन्य ११ जनालाई मात्र सोमबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रमाण नपुगेकाले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रवक्ता सीताराम अर्यालले बताए । मन्त्रीलाई मानव तस्करीमा प्रयोग गर्ने मोरङका गोपाल भन्ने योगराज गौतम, उदयरपुरका  विष्णु भट्टराई र अमेरिका बस्ने दिवाकर भट्टराईलाई पक्राउ  गरिएन । जसकारण अधिकारीविरुद्धको प्रमाण कमजोर बनाएर मुद्दा नचलाउने निर्णय गरिएको छ । 

भट्टराई दाजुभाईले जापानमा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन ओपन ऐसस टु कल्चर २०२४’  बाट निमन्त्रण मगाएका थिए । रजिष्ट्रेसन शुल्क तिरेपछि त्यहाँबाट निमन्त्रणा प्राप्त हुने भएकाले त्यही कार्यक्रमको आवरणमा मानव तस्करीको योजना  बनाइएको थियो । त्यसका लागि सामान्य व्यक्तिलाई भिसा नलाग्न सक्ने भएकाले मन्त्री र उनका टिमका तीन जना बनाएर भिसा लगाइएको थियो । उनीहरुको धादिङका महेश पाण्डेसँग चिनजान थियो । हाल थुनामा रहेका पाण्डेले नै पैसा तिरेर जापान जाने व्यक्ति खोजेका थिए । तर, सहजै भिसा नलाग्ने भएकाले कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई प्रयोग गरिएको थियो । पाण्डेका साथी योगराज गौतमको उनीसँग चिनजान थियो । उनले नै मन्त्रीलाई जापान जाने प्रस्ताव गरेकोमा उनी तयार भएका थिए । अन्य दुई जनाको परिचयपत्र समेत उनकै मन्त्रालयको बनाइएको थियो । सोही आधारमा भिसा पाएर मन्त्री र अन्य चारजना सँगै जापान गएका थिए । तर, जापान अध्यागमनले विमानस्थलबाटै फकाईदिएपछि घटना बाहिर आएको हो ।   

प्रहरीले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–६ का महेश पाण्डे, नुवाकोटको विदुर–७ का जुगल रिजाल र दोलखाको जिरी –९ का वीरबहादुर सुनुवारबिरुद्ध मानव बेचबिखन मुद्दा चलाइएको छ । खोटाङ ऐंसेलुखर्क–२ दावा शेर्पा, खोटाङकै केपिलासगढी–४ का जनक राई, रसुवा कालिका–५ का कञ्चन देवकोटा, गुडी राई र नवीन राईविरुद्ध भने लिखत किर्ते कसुरअन्तर्गत मुद्दा चलाउन थालेको छ । कोशी प्रदेशका एमाले सांसद रहेका अधिकारीलाई भने शक्तिको आडमा उन्मुक्ति दिइएको प्रहरी अधिकारी बताउँछन् । 

सुझावित समाचार