मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय

सोमबार, १० मंसिर, २०८१
डिजिटल संस्करण

- यसअघि अंग दान गरेका व्यक्तिको परिवारलाई अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिइँदै आइएको थियो । 
- अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजारमा मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् मानव अंग दान गर्ने दाताका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यसअघि परिवारलाई एक लाख रुपैयाँ दिने गरिएकोेमा बढाएर दुई लाख पुर्याउने निर्णय गरिएको हो ।

अंग दान गरेका व्यक्तिको परिवारलाई मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिइँदै आइएको थियो । परिवारलाई दिइने पैसा थपका लागि अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

यस्तै, अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।

आफ्नो मृत्युपश्चात् अंग दान गर्ने घोषणा गरिसकेका मन्त्री पौडेलले निर्णय गर्दै भनेका छन्, ‘आफ्नो मृत्युपछि अरूको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौँ, मन्त्री पौडेलले भने, ‘एउटाको जीवनपछि अरूको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौँ ।’

हाल प्रतिवर्ष  मिर्गौलाका लागि एक हजार र कलेजोका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने–टिपाउने गरेका छन् । तर, मस्तिष्क मृत्युपश्चात् अंग दान गर्ने व्यक्तिहरू निकै कम भएकाले हजाराैँको संख्यामा बिरामी अंगको प्रतीक्षामा छन् ।

विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्नेबाहेकले अंग दान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात् दान दिने गरी अंग दान गर्न पाउने व्यवस्था छ ।

हाल भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा बर्सेनि २०० मिर्गौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अंग प्रत्यारोपणको झन्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आइरहेका छन् । 
 

See More On

सुझावित समाचार