दोर्दीको पर्यटकीयस्थल ‘कोम्रो डाँडामा धर्मशाला निर्माण’

शनिबार, ८ मंसिर, २०८१
डिजिटल संस्करण

लमजुङको दोर्दी गाउँपालिकाको कोम्रो डाँडामा धर्मशाला निर्माण गरिएको छ। दुधपोखरी, मेमे पोखरीलगायत हिमालचुली हिमालनजिकबाट नियाल्न जाने, आउने पर्यटकहरूको वासस्थानलाई सहजताका लागि उक्त स्थानमा धर्मशाला निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाले यसअघि मेमे पोखरीमा धर्मशाला निर्माण गरेको थियो। अहिले ४००० मि. उचाइमा रहेको कोम्रो डाँडामा धर्मशाला निर्माण गरेको हो। योसँगै यसै वर्ष नौटाँचेमा पनि सोही किसिमको धर्मशाला बन्ने प्रक्रियामा रहेको पालिकाले जनाएको छ।

लमजुङको दोर्दी गाउँपालिकामा रहेका पर्यटकीयस्थलहरू मेमे पोखरी, दुधपोखरी, इलमपोखरी, बारपोखरी, लिपे, हिमालचुली, मनासलु, बौद्ध हिमाललगायतका रमणीयस्थल तथा हिमशिखरहरूको अवलोकन गर्न गाउँपालिकाले अनुरोध गरेको छ।

विगत केही वर्ष पहिले मेमे पोखरी तीर्थ यात्राको लागि गएका नवदम्पतीको वासस्थानको अभाव, नक्सांकनको अभावले कोम्रो डाँडामा मृत्युवरण गर्नुपरेको थियो। अहिले सोही कोम्रो डाँडामा गाउँपालिकाले शौचालयसहितको धर्मशाला निर्माण गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए।

सुझावित समाचार