आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल)को शुक्रबार लोगो, ट्रफी र फ्रेन्चाइज ६ टोलीको घोषणा गरेको छ । एनकेएल लिगमा ६ प्रदेशका फ्रेन्चाइज टोलीले भाग लिनेछन् । आयोजकले लिगको मिति घोषणा गरेको छैन । तर, लिगमा काठमाडौं, पोखरा, विराटनगर, बुटवल, जनकपुर र धनगढीले प्रतिस्पर्धा गर्नेछन् ।
अखिल नेपाल कबड्डी संघले आगामी १० वर्षसम्म लिग गर्न एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिलाई अधिकार दिएको थियो । खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा पहिलोपल्ट आयोजना हुन लागेको लिगमा छुट्टै उत्साह र उमंग हुने बताए ।
उनले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङप्रति आक्रोश पोखे । सदस्यसचिवले स्वार्थ बाझिने खेलमा मात्रै ध्यान दिँदा कबड्डीजस्ता खेल खेलाउने कभर्डहल नपाएको मन्त्री चौधरीले गुनोसो पोखे । ‘अहिले सरकार खेलकुदमा लगानी गर्न तयार छ । तर, राखेपका सदस्यसचिव राजनीति स्वार्थबाट माथि उठ्न सकेनन्,’ उनले भने, ‘राष्ट्रको पैसा मात्रै सकियो । उहाँले केही नतिजा नआउने खेललाई प्राथमिकतामा राख्नुभएको छ ।’