काठमाडौं । कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेबिड मिलरलाई अनुबन्ध गरेको छ । शुक्रबार क्लबले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टेस्टराष्ट्र दक्षिण अफ्रिकाका मध्यक्रमका बाँयाहाते ब्याटरलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।
डेबिड मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी हुन् । यसअघि क्लबले पाकिस्तान टी– २० क्रिकेटका कप्तान साहिबजादा फर्हानलाई अनुबन्ध गरेको थियो । बिहीबार नै कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।
दोस्रो सिजनमा सानदार प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि कर्णाली याक्सबाटै खेल्दै छन् । वाटबाहेक मिलर, फर्हान, तलात, अरिफुल र अकबर तीनैजना पहिलोपटक एनपिएल खेल्न लागेका हुन् ।
कर्णाली याक्स स्पोर्टस् प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको चाहनाअनुसार चर्चित खेलाडी अनुबन्ध गर्न सफल भएको बताए । ‘कर्णाली याक्समा समर्थकले हामीबाट धेरै आशा गर्नुभएको थियो । सोहीअनुसार हामीले डेबिड मिलरजस्ता विश्वचर्चित खेलाडीलाई अनुबन्ध गर्न सफल भएका छौँ,’ घिमिरेले भने ।
घिमिरेले मिलरको आगमनसँगै कर्णाली याक्सको टिम उपाधि दाबेदारमा रहेको तथा नेपालमा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन सफल भएको बताए । ‘पहिलो सिजन हामीले शिखर धवनलाई अनुबन्ध गरेका थियौं । जसले नेपाली क्रिकेट र एनपिएलको निकै चर्चा भयो । यसपटक डेबिड मिलर, साहिबजादा फर्हान र हुसैन तलातलाई अनुबन्ध गरेका छौँ । यसले कर्णाली याक्सलाई मात्रै नभएर, एनपिएलदेखि नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठुलो योगदान पुग्ने विश्वास लिएको छु,’ उनले भने, ‘अब हाम्रो लक्ष्य उपाधिमा केन्द्रित हुनेछ ।’
३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्वचर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन् । उनले भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिगहरू खेलेका छन् । उनले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाब, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल जित्दा मुलर मुख्य खेलाडी थिए ।
मिलरले दक्षिण अफ्रिकाबाट १४० टी– २० आईमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा दुई शतक र नाै अर्धशतक प्रहार गरेका थिए । उनको आफ्नो करिअरको दुई टी– २० शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए ।
यता, ५८४ टी– २० आई खेल खेल्दा १२ हजार ४३५ रन बनाएका छन् । यसक्रममा चार शतक तथा ५३ अर्धशतक बनाएका छन् । मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी शतक प्रहार गरेका थिए । यस्तै, आइपिएलमा पञ्जाबबाट रोयल च्यालेन्जर्स बेंग्लाेरविरुद्ध खेल्दा ३८ बलमै शतक प्रहार गरेका थिए ।
कात्तिक ९ बाट सुरु हुने एनपिएलका लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्सन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन् ।
यसबाहेक कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिसविक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।