२२ ग्रान्डस्लाम च्याम्पियन नाडालले लिए सन्न्यास

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

२२ पटकका ग्रान्डस्लाम उपाधि जितेका स्पेनिस खेलाडी राफेल नाडालले अन्तर्राष्ट्रिय टेनिसबाट सन्न्यास लिएका छन् । स्पेनको मालागामा डेभिस कपमा नाडालले मंगलबार राति करिअरकै अन्तिम खेल खेल्दै सन्न्यास घोषणा गरेका हुन् । उनले दुई साताअघि डेभिस कप नै अन्तिम खेल हुने बताएका थिए । नाडालले आफ्नो अन्तिम खेल सुखद बनाउन सकेनन् । ८०औँ वरीयताका नेदरल्यान्ड्सका वोटिक वानले उनलाई ६–४ र ६–४ को सेटमा निराश पारे । नाडाल डेभिस कपमा लगातार २९औँ खेलपछि पराजित भएका हुन् । 

मार्टिन कारपेन एरिनामा सन्न्यास घोषणा गर्दा ३८ वर्षीय नाडाल भावुक बनेका थिए । बिदाइ समारोहमा ११ हजार दर्शक उपस्थित थिए । प्रतिटिकेटको मूल्य ४५ पाउन्ड राखिएको थियो । नाडालले एक युगको टेनिस समाप्त भएको जनाएका छन् । ‘म एकदम खुसीका साथ टेनिसबाट बिदा हुँदै छु । यससँगै एक युगको टेनिस समाप्त भएको छ,’ नाडालले भने, ‘यो एउटा खेल मात्र नभएर जीवन पनि हो । जहाँ म रमाए पनि निराशसमेत भएँ ।’  विश्व टेनिस जगत्मा ग्रान्डस्लाममा एकाधिकार जमाएका नाडालको सन्न्यासपछि अब सर्बियाली नोभाक जोकोभिक मात्र सक्रिय छन् । यो डेढ दशकमा रोजर फेडेरर, नाडाल र जोकोभिकले एटिपीदेखि ग्रान्डस्लाम टेनिसमा एकाधिकार जमाएका थिए । यी तीन खेलाडीले प्रतियोगितामा भाग लिँदा दुईजना निश्चित रूपमा फाइनलमा पुग्थे । गत वर्ष फेडेररले सन्न्यास लिएका थिए । सर्वाधिक ग्रान्डस्लाम जित्ने नाडाल दोस्रो खेलाडी हुन् । शीर्ष स्थानमा रहेको जोकोभिकले २४ ग्रान्डस्लाम हात पारेका छन् । 

फ्रेन्च ओपनको रेकर्ड
फ्रान्सको पेरिसमा रातो माटोमा खेलिने एक मात्र ग्रान्डस्लाम फ्रेन्च ओपनमा नाडालको रेकर्ड गजबको छ । उनले यहाँ ११२ खेलमा सहभागी हुँदा चार खेलमा मात्र हारको सामना गरेका थिए । फ्रेन्च ओपनको १९ वटा संस्करण खेलेका नाडालले १४ पटक उपाधि जिते । सन् २०२२ मा फ्रेन्च ओपन जित्दा उनी पाका खेलाडीका रूपमा च्याम्पियन बनेका थिए । 

करिअरमा नाडालले गोल्डेन स्लामसमेत गरेका छन् । सन् २००८ मा उनले अस्ट्रेलियन, विम्बल्डन, फ्रेन्च तथा अस्ट्रेलियन ओपन हात पारेका थिए । सोही वर्ष चीनको बेइजिङमा भएको ओलम्पिकमा समेत उनले स्वर्ण हात पारेका थिए । एकै वर्ष ओलम्पिक स्वर्ण र चार ग्रान्डस्लाम जित्ने खेललाई गोल्डेन स्लाम भनिन्छ । यो उपलब्धि हात पार्ने उनी त्यसवेला दोस्रो खेलाडी बनेका थिए । 

सन् १९९६ मा अमेरिकी आन्द्रै आगासी र सन् २०२४ मा जोकोभिकले गोल्डेन स्लाम गरेका थिए । नाडालले आफ्नो करिअरमा ९२ एटिपी टुस उपाधि हात पारेका थिए । उनले आफ्नो करिअरमा दुईपटक स्पेनलाई ओलम्पिक स्वर्ण दिलाएका छन् । यसैगरी चारपटक उनी डेभिस कपको विजेता बने । एटिपी पुरुष वरीयतामा उनी लगातार २०९ सातासम्म शीर्ष स्थानमा रहे । नाडाल लगातार ९१२ साता शीर्ष दशभित्र रहेका थिए ।

See More On

सुझावित समाचार