एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने बताएका छन् । एमाले प्रचार विभागले बुधबार आयोजना गरेको सम्पादकसँग अन्तत्र्रिmया कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । देश बन्दैन भन्दै निराशा र अराजकता फैलाइएकाले लोकतन्त्र, स्थिरता र समृद्धिका पक्षमा जनता जागरुक गर्ने उद्देश्यसहित एमालेले शुक्रबार काठमाडौंमा जागरणसभा गर्दै छ । सभामा काठमाडौं, भक्तपुर र ललितपुरको सम्पूर्ण पार्टी पंक्तिलाई सडक प्रदर्शनमा उतार्ने गरी एमालेले तयारी गरिरहेको छ । तयारीकै सिलसिलामा एमालेले बुधबार अन्तत्र्रिmया आयोजना गरेका थियो ।
ज्ञवालीले राजनीतिलाई स्थायित्व दिने हो भने विकास र समृद्धिसँगै जनतामा डेलिभरी पनि चाहिने बताए । उनले दुई ठुला दल कांग्रेस र एमालेसहितका दलको सहकार्यमा सरकार बनेपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको र जनतामा भरोसा जगाएको पनि उल्लेख गरे । उनले शान्तिपूर्ण ढंगले सडकमा जाने कुरा ठिक भए पनि अहिले जुन ढंगको भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ त्यो गलत भएको दाबी गरे । विधिको शासनमा सबैलाई कारबाही हुन्छ भन्दै अहिले सकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा गरिएका आन्दोलनको कुनै औचित्य नभएको पनि प्रस्ट्याए ।
रामायणमा सीताले समेत अग्निपरीक्षा दिएको सन्दर्भ उल्लेख गर्दै रास्वपा सभापतिप्रति एमालेले कुनै प्रतिशोध नसाँधेको पनि उनले बताए । ‘अहिले रास्वपामा अरूलाई कानुन लागे पनि हामीलाई लाग्नुहुन्न भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ, त्यो गलत छ,’ ज्ञवालीले भने, ‘ऊर्जाको क्षेत्रीय व्यापार, विपत्लगत्तै रामेछाप र सिन्धुली जोड्ने पुल २० दिनमै निर्माण गर्ने कुरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनजस्ता विषय सरकारका सकारात्मक काम हुन् । सरकार जनताले थाहा पाउने गरी गति दिनुपर्छ भनेर लागेको छ भन्ने सन्देश पनि हो ।’
प्रधानमन्त्री केपी ओलीविरुद्धको ‘फेक’ डकुमेन्ट, रवीन्द्र मिश्रसँग प्रचण्डले गरेको कुराकानी र प्रचण्डले भारतीय सञ्चारमाध्यमलाई दिएका अभिव्यक्ति अस्थिरताको हुइँया चलाउनेको योजनाबद्ध हर्कत भएको ज्ञवालीको टिप्पणी थियो । अराजकता र अस्थिरता मच्चाउन खोज्ने लोकतन्त्रविरोधी पात्रहरू एकै ठाउँमा उभिन खोजेको आरोप लगाउँदै उनले माओवादी अध्यक्ष प्रचण्ड नै त्यसको अगुवाका रूपमा देखापरेको बताए । ‘अहिले प्रचण्डजीमा सरकारविरुद्ध जे–जे हतियार पाइन्छ त्यो प्रयोग गर्ने मनोविज्ञान देखिन्छ । रास्वपादेखि राजावादीसम्म त्यसकै वरिपरि एक ठाउँमा आउने देखियो,’ उनले भने, ‘प्रचण्डजीको त्यस्ता गतिविधि र पछिल्ला अभिव्यक्ति अशोभनीय, अनपेक्षित र खेदजनक छ ।’
उनले दुर्गा प्रसाईंजस्तो प्रवृत्ति गलत भएको भन्दै कुनै वेला पार्टी नेतृत्वले नै संरक्षण गरेको विषयलाई पार्टीले कमजोरीका रूपमा महसुस गरिसकेको पनि बताए । ‘निःसन्देह उनी कसरी केन्द्रीय कमिटीमा पुगे भन्ने प्रश्न स्वाभाविक छ । हामीले पर्याप्त ध्यान पुर्याउन सकेनौँ, यो रिअलाइज गरेकै कुरा हो । त्यसैले आगामी दिनमा यस्ता कुरामा ध्यान दिनुपर्छ,’ उनले भने ।
एमालेले ७ मंसिरमा भृकुटीमण्डपमा तय गरेको जागरणसभा दरबारमार्गमा सारेको छ । अत्यधिक जनसहभागिताले जुलुस व्यवस्थापन र जनसभा व्यवस्थापनमा कठिनाइ हुन सक्ने भएकाले जागरणसभा दरबारमार्गमा सारिएको तयारी समितिका संयोजक डा. राजन भट्टराईले बताए ।