लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४ ताघ्रिङको मिप्रा भिरमा ‘हनी हन्टिङ’ अर्थात् महसिकार गरिएको छ। दोस्रो मर्स्याङ्दी महोत्सवको अवसरमा मिप्रा भिरमा महसिकार गरिएको हो। पर्यटन प्रवर्द्धनका लागि महसिकारलाई महोत्सवको एक मुख्य आकर्षण बनाइएको मर्स्याङ्दी गाउँपालिकाले बताएको छ।
यता, छंगाछुर भिरमा डोरीकै भरमा महसिकार गरेको दृश्यलाई धेरै दर्शकले रुचाए। महसिकार गरेको हर्न दर्शकको घुइँचो नै लागेको थियो। महसिकार गरेको हेर्न रमाइलो हुन्छ। तर, यो काम निकै कठिन र जोखिमयुक्त हुन्छ। ज्यानको बाजी थापेर ‘महसुर’ महसिकारीले मात्रै यस्तो काम गर्न सक्छन्।
मर्स्याङ्दी गाउँपालिका– ४ मिप्रा भिरमा झुन्ड्याइएको डोरीबाट स्थानीय मीनबहादुर गुरुङ भिरमा झर्छन्। करिब पाँच सय मिटर खोँचमा खोलाको कुनै पर्वाह नगरी उनको ध्यान महसिकारमा हुन्छ। तलबाट काँचो स्याउला बालेर आएको धुवाँ र धुवाँसँगै रन्थनिएको मौरी उनको ज्यानमा बेरिन्छन्, तर आफूलाई माहुरीले नटोकेको उनी बताउँछन्। उनीपछि पालैपालो डिलबहादुर गुरुङ र राजकुमार गुरुङ पनि भिरमा फालिएको डोरीमा झुन्डिएर महसिकार गर्छन्।
महसिकार गरेको दृश्य प्रत्यक्ष हेर्न पाउँदा बडो रमाइलो अनुभूति भएको मर्स्याङ्दीकी काशी गुरुङ बताउँछिन्। महिसकार हेर्न मिप्रा भिरमा पुगेका दर्शकले महसिकार मात्र हेरेनन्। उनी मात्र होइन, आङै सिरिंग हुने अग्ला भिर–पहरामा निडरका साथ महसिकारीहरूले मह काढेको दृश्य देख्दा आनन्द महसुस भएको भोटेवडारकी विपना कुँवरले बताइन्। उनले भनिन्, ‘भिरमाहुरीको सिकार गरेको कहिल्यै नदेखेकाले पहिलोपटक देख्दा साँच्चै अविष्मरणीय र रोचक बन्यो।’
महोत्सव मूल आयोजक समितिका संयोजक एवं मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकाभित्रका धेरै ठाउँमा साहसिक तरिकाले महसिकार हुँदै आएको बताए। उनले भने, ‘यस्ता कामले चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ।’ लमजुङको घनपोखरा, सिउरुङ, पसगाउँ, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, नाइचे, दुधपोखरीलगायतका भिर–पहराहरूमा भिरमौरीहरू प्रशस्त पाइन्छ। झन्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहरामा भिरमौरीले घार बनाउने गर्दछ।
अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ खुदीमा हरिबोधनी एकादशीको अवसर पारेर कात्तिक २७ गतेदेखि मंसिर २ गतेसम्म दोस्रो मर्स्याङ्दी महोत्सव २०८१ आयोजना गरिएको थियो।
यसरी गरिन्छ महसिकार
भिरमाहुरीको मह काढ्दा थोरै गल्ती भए ज्यानै पनि जान सक्छ। नेपालमा विरलै हुने महसिकार लमजुङमा कहालीलाग्दो भिर तथा पहराहरूमा ज्यानको बाजी राखेर स्थानीय सिकारीहरूले गर्दै आएका छन्।
भिरमाहुरी र महले प्रख्यात लमजुङमा पछिल्लो समय विनातयारी मह काढ्ने प्रचलन पनि उत्तिकै बढेको छ। लमजुङका अधिकांश भिर तथा पहराहरूमा भिरमह पाइन्छ। जाँगरिला महसिकारीहरूले वर्षैपिच्छे सिकार गर्दै आएका छन्। भिरमह जस्तोसुकै भिरमा हुँदैन। भिरमाहुरीले आफ्नो सुरक्षा हेरेर पहराको बिचमा घार बनाएको हुन्छ। कहीँ कतैबाट ठेस नपुग्ने ठाउँमा बनाइएका घारमा सिकार गर्न चोयाको डोरी प्रयोग गरिन्छ।
दुईवटा डोरी बाँधेर ठेल्ना राखिन्छ र भर्याङजस्तो बनाएर डोरीलाई भिरको सिरानमा रहेको रुखमा बाँधी त्यसबाट सिकारी झुन्डेर मह काढ्ने गरिन्छ। विशेषगरी कात्तिक, मंसिर र वैशाख महिना भिरमौरीको मह काढ्ने उपयुक्त समय भएको घनपोखराका प्रकाश गुरुङले बताए। उनका अनुसार पहिलेपहिले बुढापाकाले भिरमह काढ्थे। पछिल्ला केही वर्षयता युवा अघि सरेका छन्। ‘बुढा भएका बाउबाजेहरूलाई धेरै दुःख दिनुहुँदैन भनेर युवा अघि सरेका छौँ,’ उनले भने।