प्रभु केबलकारले ३० करोडको आइपिओ जारी गर्ने

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

प्रभु केबलकार एन्ड टुरिजमले सर्वसाधारणका लागि ३० करोडबराबरको आइपिओ निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासक तथा बिक्री प्रबन्धकमा कम्पनीले कुमारी क्यापिटललाई नियुक्त गरेको छ । यी दुवै संस्थाबिच सम्झौतासमेत भएको छ । 

सम्झौतापत्रमा प्रभु केबलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । 

प्रभु केबलकारको लगानीमा तीनवटा केबलकार परियोजना अगाडि बढेका छन् । जसमध्ये बुटवलमा गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोटगढी पाल्पा जाने सिद्धार्थ केबलकार परियोजना गत असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आइसकेका छन् । 

प्रभु केबलकार एन्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केबलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केबलकार बुटवलस्थित फूलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्छ ।

त्यस्तै, कम्पनीको लगानीमा सुदूरपश्चिमस्थित बाजुरा जिल्लाको बडिमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केबलकार बनाई सञ्चालन गर्ने कम्पनीको तयारी रहेको बताइएको छ । यस कम्पनीले जलविद्युत्, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ । 

See More On

सुझावित समाचार