गुल्मी बडागाउँको आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनमा

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

गुल्मीको मुसिकोट नगरपालिका– ४ बडागाउँको आधारभूत स्वास्थ्य सेवा केन्द्र नेटाखर्कको नयाँ भवन निर्माण गरिएको छ। ०७७ सालमा स्थापना भएको केन्द्रको आफ्नै सुविधासम्पन्न आधुनिक भवन निर्माण भएको हो। भवनको पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरेका छन्। स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गर्दै विष्टले आधारभूत स्वास्थ्य सेवा केन्द्रले आमनागरिकको सामान्य स्वास्थ्य समस्याको घरछेउमै उपचार सम्भव बनाएको बताए।

उनले प्राथमिक उपचारकै लागि गाउँ छोडेर घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यताको अन्त्य हुँदै गएको बताए। पूर्वाधार निर्माण पनि महत्त्वपूर्ण विषय भएकाले क्रमशः जनशक्ति र उपकरणको प्रबन्धसहित गाउँकै सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच स्थापित हुनुपर्ने उनको भनाइ छ।

एक करोड ८० लाख आठ हजार १८१ रुपैयाँ लागत अनुमान गरिएको भवन जिआरएस कन्स्ट्रक्सन एन्ड सप्लायर्सले एक करोड ३४ लाख तीन हजार ९४५ रुपैयाँमा सम्झौता गरेर निर्माण गरेको मुसिकोट नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिए। ०७९ माघ १६ मा सम्झौता भएर ०८१ असार १३ मा भवन निर्माण सम्पन्न भएको थियो। भवन निर्माणका लागि संघीय सरकारको ७६ लाख ८० हजार ८३३ र नगरपालिकको ५७ लाख ४८ हजार २५१ रुपैयाँ खर्च भएको सूचना अधिकारी घिमिरेले बताए।

केही दिनमै फर्निचरका काम सकेर सेवा प्रवाह नयाँ भवनबाट हुने नगरपालिकाले जनाएको छ। मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले संघीय बजेटले मात्रै भवन अलपत्र हुने अवस्था आएपछि आफूहरूले पटकपटक रकम थपेर निर्माण गरेको बताउँदै संस्थाको विकास र स्थानीयको स्वास्थ्यका लागि अझै धेरै सहयोग गरिने प्रतिबद्धता जनाए।

उनले सिटामोलकै लागि भुवाचिदी, ठुलापोखरा र वामी पुग्ने बाध्यताको अन्त्य गर्न सकेकोमा खुसी व्यक्त गरे। मुसिकोट नगरपालिकामा धमाधम १५ शय्याको अस्पतालसहित स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थाहरूका भवन निर्माण भइरहेका छन्। नगरपालिकाको वडा नं. १, ३, ५ र ६ मा आधुनिक स्वास्थ्यचौकी भवन निर्माण भइसकेको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिए। वडा नं. ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन पनि निर्माण भइरहेको छ।

त्यस्तै, वडा नम्बर २ र ९ मा चौकीका लागि प्रक्रिया अगाडि बढेका छन्। जिसीका अनुसार नगरमा सातवटा स्वास्थ्य चौकी, दुई आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन सहरी स्वास्थ्य केन्द्र, दुई सामुदायिक स्वास्थ्य एकाइ छन्। पालिकाभित्र आठ बर्थिङ सेन्टर र चार एम्बुलेन्स सञ्चालनमा छन्। मुसिकोट नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा विभिन्न रचनात्मक काम पनि गरिरहेको छ। गर्भवती तथा सुत्केरीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा, गर्भवती तथा सुत्केरीका लागि बृहत् पोषण प्याकेजबापत नगद पाँच हजार प्रदान गर्ने कार्यक्रम रहेको संयोजक जिसीले बताए। उनले पोषणमैत्री र जिरो होम डेलिभरी नगरपालिका घोषणाउन्मुख काम भइरहेको बताए।

सुझावित समाचार