आगलागीले ध्वस्त भएकाे गुल्मीकाे दजाकोटका घरघरमा खानेपानीकाे सुविधा

शनिबार, १ मंसिर, २०८१
डिजिटल संस्करण

आगलागीले ध्वस्त भएकाे गुल्मीकाे दजाकोटका घरघरमा खानेपानीकाे सुविधा पुगेकाे छ। यसअघि यहाँ खानेपानीको पुर्ख्यौली समस्या थियाे। ०७३ सालमा आगलागीले यहाँकाे बस्ती ध्वस्त भएर नष्ट भएका थिए। त्यसपछि गाउँ झन् पानीकाे अभावले काकाकुलको अवस्थामा पुगेकाे थियाे।

स्थानीय ५७ वर्षीय यमबहादुर गाहाले खानेपानी नहुँदा छल्दिखोला, ओलाङ्दी, रासी गाउँसम्म पुगेर पानी बोक्ने अवस्थाको स्मरण गरे। ‘भालेले डाँको छोड्दा एक गाग्रो पानी घर आउँथ्यो। गुजारा चलाउन बिहान पानी पुर्याएर मेला पुग्नुपर्थ्यो,’ उनले भने, ‘विगतका दिन सम्झँदा सपनाजस्तो लाग्छ।’ गाहा मात्रै नभएर दजाकोटका कैयन पुरानो पुस्ताले खानेपानीकाे ठुलो संकट झेलेका छन्।

अहिले लिफ्ट प्रविधिमार्फत खोलाको पानी घरमै धारामा खसेपछि खुसीको सीमा नरहेको स्थानीय तथा शिक्षकसमेत रहेका बोम छन्तेलले बताए। ‘खोलाको पानी आउला भन्ने पत्यार लागेकाे थिएन। तर, खर्चिलो भए पनि प्रविधिले सम्भव बनाउँदाे रहेछ,’ उनले भने, ‘सुन्ने कोही नभएकाले मगर समुदायका कयौँ पुस्ताले ढाडको छाला खुइलाएर पानी बोके।’

दजाकोट कम बसाइँसराइ भएको गाउँ हो। आगलागीपछि केही घर मात्र तराई झरे। गाउँमा हुनेहरू अहिले पानी पर्याप्त भएका कारण कृषि र पशुपालनमार्फत राम्रो आयआर्जन गरेको स्थानीय सरिता गाहाले बताइन्। ‘लगभग सबै बुहारीहरू नै गाउँमा छौँ। अहिले पानी पर्याप्त भएपछि घरकै काम, सरसरफाइ र कृषि तथा पशुपालनमा पनि केही न केही उद्यममा सहजीकरण भएको छ,’ उनले भनिन्, ‘घरमै पानी आएपछि थुप्रै फाइदा भएको छ।’ 

शुक्रबार भगलामगैरा दजाकोट लिफ्ट खानेपानी योजनाको पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरे। उनले स्थानीयलाई सम्बोधन गर्दै दजाकोटको हरेक समस्यामा सँगै भएकाले लिफ्ट खानेपानीमा जनताले चर्को महसुस तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न पहल खाेजिने बताए।

विष्टले आगलागीले बस्ती ध्वस्त हुँदा आफूले स्थानीयलाई दिएको वचन पूरा गर्न सकेकोमा खुसी व्यक्त गरे। ०७३ वैशाखमा दजाकोट आगलागीले ध्वस्त भएपछि खानेपानीको राम्रो स्रोत थिएनन्। जसको कारण अहिले बस्तीदेखि ६ सय मिटर तलबाट लिफ्टमार्फत पानी घरघरमा पुर्याइएको छ। 

यो खानेपानी योजनामार्फत १२३ घरमा ‘एक घर एक धारा’ पुगेको छ। एक विद्यालय र एउटा सामुदायिक स्वास्थ्य केन्द्रमा समेत खानेपानीको व्यवस्था भएको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समूहका सचिव दिलबहादुर सोनारीले जानकारी दिए।

पूर्वाधार साझेदारी विकास कार्यक्रमको ६५ लाख रुपैयाँ, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको ९७ लाख ४८ हजार ६ रुपैयाँ, नेपाल विद्युत् प्राधिकरणमार्फत ४३ लाख ९० हजार ७५६ का विद्युतीय सामग्री र ३७ लाख ५० हजारको जनश्रमदान रहेको सोनारीले बताए। 

आगलागी र पानीका कारण दजाकोटमै हैजाले एकजनाले ज्यान गुमाए। दर्जनौँ व्यक्ति बिरामी परे। अहिले घरघरमा पानी झरेको छ। मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले तीन/चार वर्ष पहिले नै पानी खसे पनि अहिले खुसी साट्न पाएकोमा खुसी व्यक्त गरे। उनले तत्कालीन अवस्थामा योजना समावेश गर्ने तीनै तहका सरकारलाई धन्यवाद दिए।

योजना कार्यान्वयन गर्ने खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख सरोज न्यौपानेले तीन तहकाे सरकारको लगानी हुँदा पनि समयमै काम भएको बिरलै मध्येको योजना रहेको बताए। पुराना योजना अझै थुप्रै क्रमागत रूपमा रहेको अवस्थामा भगलाममा आफूहरू अझै पनि मर्मतमा जोडिन सक्ने बताए।  

दजाकोटमा ०७३ वैशाख १८ गतेको आगलागीले ५७ घर र ७० गोठ पूर्ण तथा आठ घर आंशिक क्षति भएका थिए। घटनामा पाँच सय बढी पशुचौपाया र कुखुराहरू आगोले नष्ट भएका थिए। अहिले ४१ घर पूर्ण रूपमा पुनर्निर्माण गरिएको छ। त्यो वेला क्षति भएकामध्ये केही पीडित परिवार बसाइँ सरेर अन्यत्र गएका छन्। 

See More On

सुझावित समाचार