दश वर्षपछि अलैँचीको मूल्य उच्च विन्दुमा, प्रतिमन एक लाख

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

खोल्सीको कालो सुनको उपनामले चिनिने अलैँचीको मूल्य प्रतिमन (४० केजी) करिब एक लाख हाराहारीमा पुगेको छ । एक दशकदेखि ओरालो लागेको अलैँचीको मूल्य अहिले उच्च विन्दुमा पुगेको हो । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २० हजारसम्म आएको थियो ।

यो वर्ष भने वृद्धि हुँदै उच्च विन्दुमा पुगेको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा अलैँचीको मूल्य प्रतिमन ९७ हजार पुगेको अलैँची व्यवसायी कमल बरालले बताए । व्यवसायी बरालले ठुलो दाना, धुलो र पुच्छररहित गुणस्तरीय अलैँची उक्त मूल्यमा खरिद–बिक्री हुन थालेको बताए । अलैँची बजारमा आउन थालेपछि मूल्य निरन्तर बढ्दै गएको अलैँची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए । भदौको पहिलो सातादेखि बजारमा निस्कन थालेको अलैँचीको मूल्य यसपटक सामान्य भए पनि निरन्तर बढिरहेको उनको भनाइ छ । 

यो सिजनको सुरुवातमै अलैँचीको मूल्य ९५ हजारदेखि एक लाख रुपैयाँ प्रतिमनसम्म कारोबार भइरहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । ‘सिजनको सुरुवातमै अलैँचीको मूल्य प्रतिमन ९५ हजारदेखि एक लाखसम्म पुगेको छ । यो एक दशकपछिको बढी मूल्य हो । यसले किसानमा उत्साह थपेको छ,’ अध्यक्ष भट्टराईले भने, ‘अलैँचीको मूल्य लयमा आउँदै छ । तर, यसै भन्नचाहिँ सकिँदैन । यद्यपि, यसपटक अलैँचीको मूल्य घट्नेभन्दा पनि बढ्ने नै देखिन्छ ।’

भारत र भुटानमा उत्पादन घटेका कारण अलैँचीको मूल्यवृद्धि भएको उनको भनाइ छ । यद्यपि, नेपालमा पनि अलैँचीको उत्पादन क्रमशः घट्दो छ । गत वर्ष अघिल्लो वर्षको भन्दा ५० प्रतिशत उत्पादन घटेर देशभर करिब पाँच हजार मेट्रिकटन मात्रै उत्पादन भएको उनले बताए । यसपटक पनि गत वर्षभन्दा २० देखि २५ प्रतिशत अलैँचीको उत्पादन घट्ने उनको अनुमान छ । जलवायु परिवर्तनले रोग देखा पर्दा अलैँचीको उत्पादन घट्दो क्रममा रहेको उनले बताए । ‘सिँचाइका लागि अकासे पानीको भर पर्नुपर्छ । कुनै वेला आवश्यक पर्दा वर्षा हुँदैन,’ उनले भने । अलैँची उत्पादन भदौदेखि कात्तिक अन्तिमसम्म हुन्छ ।

नेपालको ५३ जिल्लामा अलैँचीको खेती विस्तार भइसकेको छ । नेपालमा उत्पादन हुने करिब ९९ प्रतिशत अलैँची पूर्वीनाका काँकडभिट्टाबाट भारतीय बजारसम्म पुग्ने गरेको छ । अलैँचीको कारोबार हुने हिसाबले झापाको बिर्तामोड नेपालकै प्रमुख व्यापारिक केन्द्र रहेको हो । पूर्वीनाका काँकडभिट्टाबाट निर्यात हुनेमध्ये सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने अलैँचीले पछिल्लो पाँच वर्षमा ३२ अर्ब विदेशी मुद्रा आर्जन गरिसकेको छ । चालू आर्थिक वर्षको तीन महिनामा एक अर्ब ८९ करोड ७६ लाख ६ हजार रुपैयाँ विदेशी मुद्रा नेपाल भित्र्याइसकेको छ । असोज मसान्तसम्मको तीन महिनामा १५ लाख २५ हजार नौ सय ६० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

मसलाका रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन सुरु गरेको व्यवसायी बताउँछन् । नेपालमा उत्पादन भएकोमध्ये ९८ प्रतिशत अलैँची निर्यात हुने गरेको पाइन्छ । तर, अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ । यस वर्ष अलैँचीको मूल्यवृद्धि भए पनि यसको उत्पादन घटेको छ । अलैँचीको मूल्यवृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । 

See More On

सुझावित समाचार