संखुवासभामा एकको हत्या, एकजना पक्राउ

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

संखुवासभाको चिचिला गाउँपालिका– ३ खर्सु भन्ने ठाउँमा एकजनाको हत्या भएको छ । जिल्लाको चिचिला गाउँपालिका– ३ का ३६ वर्षीय विकास राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनका अनुसार चिचिला– ३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरको बिचमा अड्किएको अवस्थामा शव फेला परेको डिएसपी बस्नेतको भनाइ छ । ‘शनिबार दिउँसो प्रहरीलाई लास फेला परेको खबर प्राप्त भयो, चिचिला प्रहरी चौकीबाट प्रहरी टोली जानुका साथै जिल्लाबाट मेरै नेतृत्वमा टोली गएकाे थियाे, प्रारम्भिक अनुसन्धानबाट लास स्थानीय विकास राईको भएको पत्ता लाग्यो, तर भिरको बिचमा शव भएकाले आज (आइतबार) मात्रै शव निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएका छौँ,’ डिएसपी बस्नेतले भने, ‘हत्या गरेर फ्याँकेको अवस्थामा भिरमा शव भेटिएको हो । शवको अवस्था हेर्दा सडेगलेको अवस्थामा रहेकाले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ ।’

हत्या आरोपमा चिचिला– ३ कै ३५ वर्षीय प्रदीप राईलाई नियन्त्रणमा लिएको डिएसपी बस्नेतले जानकारी दिए । प्रदीप आफैँले हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।  विकास लामो समयदेखि आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए । प्रहरीका अनुसार कात्तिक १८ गते भाइटीकाको दिन विकास र प्रदीपको झगडा भएको र प्रदीपले भिरबाट लडाएको अनुमान गरिएको छ । चिचिला–३ का गाउँलेहरूले केही दिनअगाडि विकासबाट गाउँ नै असुरक्षित भएको भनेर प्रहरीसमक्ष सुरक्षाको मागसमेत गरेका थिए । विकास विभिन्न मुद्दामा जेल सजाय भोगिसकेका व्यक्ति हुन् । 

See More On

सुझावित समाचार