इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षामन्त्री योभ ग्यालेन्टलाई बर्खास्त गरेका छन् । गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमास नेतृत्वमा भएको आक्रमणपछि दुई नेताबिचको सम्बन्ध तिक्त बन्दै गएको थियो । नेतन्याहुले लामो समयदेखि अक्टोबर ७ मा भएको सुरक्षा त्रुटिका लागि आफू जिम्मेवार नभएको देखाउने प्रयास गरेका छन् । नेतन्याहुले अक्टोबर ७ मा भएको घटनाका लागि निरन्तर सुरक्षा निकायमाथि दोष दिँदै आएका छन् । हमासले अक्टोबर ७ को आक्रमणमा एक हजार १३९ जना मारेको थियो भने २५० जनालाई बन्धक बनाएर गाजा लगेको थियो ।
उसो त इन्टरनेसनल क्रिमिनल कोर्ट (आइसिसी) ले गाजामा प्यालेस्टिनीहरूलाई भोकमरीको अवस्थामा पुर्याएको र सर्वसाधारणको आमविनाशको कारण बनेको आरोप लगाउँदै गैलेन्ट र नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गैलेन्टले प्यालेस्टिनीविरुद्ध भएको अत्याचारका लागि कुनै पश्चात्ताप नदेखाए पनि इजरायलले यस युद्धमा लिएको रणनीतिको आलोचना गर्दै यसलाई ‘कम्पासविनाको युद्ध’को संज्ञा दिँदै आएका छन् । उनले इजरायलले आफ्नो सैन्य उद्देश्यहरूको पुनः मूल्याङ्कन गर्न आवश्यक भएको जोड दिदैं आएका छन् ।
निरन्तरको आलोचनापछि नेतन्याहुले ग्यालेन्टलाई अपदस्थ गरेर आफूप्रति बफादार सहयोगी तथा विदेशमन्त्री इजरायल काट्जलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएका छन् । काट्ज सैन्य अनुभव नभएको राजनीतिज्ञ हुन् । ग्यालेन्ट र नेतन्याहुबिचको तिक्तताको इतिहासका पछाडि के छ ?
हुन त ग्यालेन्ट र नेतन्याहुको सम्बन्ध अक्टोबर ७ भन्दा पहिले नै कटुतापूर्ण थियो । गत वर्ष मार्चमा, नेतन्याहुले न्यायपालिकालाई कमजोर बनाउने विधेयक संसद्मा ल्याएपछि उनको ठुलो विरोध भएको थियो । त्यस समयमा, गैलेन्ट पनि नेतन्याहुको आलोचनामा उत्रिएका थिए । एक टेलिभिजन सम्बोधनका क्रममा उनले प्रस्तावित न्यायिक सुधारहरूले देशभित्र व्यापक राजनीतिक ध्रुवीकरण गर्ने र देशको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने तर्क दिए ।
अक्टोबर ७ को आक्रमणबारे बोल्ने क्रममा ग्यालेन्टले यस वर्ष जुलाईमा हमासको नेतृत्वमा भएको आक्रमण र त्यस दिनको सुरक्षा विफलताको छानबिन गर्न स्वतन्त्र छानबिनको स्थापना गर्न आह्वान गरे । उनले आक्रमण रोक्न नसेकेकामा रक्षामन्त्रीको भूमिका, इजरायली सेना तथा नेतन्याहुको असफलता साथै आन्तरिक गुप्तचर निकाय सिन बेटको अपराधमाथि छानबिन गर्नुपर्ने माग राखे । तर, यस मागबाट नेतन्याहु चिढिए । यस्तो आयोगले प्यालेस्टिनी प्राधिकरण (पिए) लाई कमजोर बनाउन हमासलाई बलियो बनाउने कार्यमा आफ्नो भूमिका खुल्ने डरमा नेतन्याहु रहेको आलोचकहरू बताउँछन् । सन् १९९३ मा प्यालेस्टिनी र इजरायली नेताबिच भएको ओस्लो सम्झौताअन्तर्गत पिए गठन गरिएको थियो ।
गैलेन्ट र नेतन्याहुबिचको सबैभन्दा ठुलो विवाद हमासको कब्जामा रहेका बाँकी बन्धक फिर्ता लिन गाजामा स्थायी युद्धविराम सम्झौताको विषयमा थियो । नेतन्याहुले पछिल्लोपटक नोभेम्बर २०२३ मा एक अस्थायी युद्धविराम सम्झौतालाई अनुमोदन गरेका थिए । त्यस समय इजरायली जेलमा रहेका २४० प्यालेस्टिनी बन्दीलाई रिहा गरेबापत १०५ इजरायली बन्दक फिर्ता गरिएका थिए ।
त्यसवेलादेखि, नेतन्याहुले गाजाको युद्ध र आफ्नो राजनीतिक करिअरलाई लम्ब्याउन प्रत्येक युद्धविराम प्रस्तावलाई प्रभावकारी रूपमा निस्तेज बनाउँदै आएको आलोचकहरूको आरोप छ । जुलाई ३१ मा हमासका राजनीतिक प्रमुख र प्रमुख वार्ताकार इस्माइल हनियेको हत्या भयो । तेहरानमा नवनिर्वाचित इरानी राष्ट्रपति मसुद पेजेस्कियनको शपथग्रहण समारोहमा भाग लिन जाँदा हानियेको हत्या भएको थियो । गैलेन्टले हत्याको निन्दा नगरे पनि इजरायली बन्दकहरूको फिर्तीका लागि सम्झौता गर्नुपर्ने पटक–पटक आह्वान गरेका थिए । इजरायली बन्दकहरूको परिवारले ग्यालेन्टको बर्खास्तीलाई युद्धविराम प्रयास कमजोर पार्ने नेतन्याहुको प्रयासका रूपमा हेरेका छन् ।