नेपाल प्रिमियर लिग : विश्व च्याम्पियन कप्तान चन्द लुम्बिनीमा आबद्ध

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

सन् २०१२ मा भारतलाई यू–१९ विश्वकप दिलाउँदा उत्कृष्ट प्रदर्शन गरेका कप्तान उन्मुक्त चन्दले लुम्बिनीबाट प्रतिस्पर्धा गर्ने 

सन् २०१२ मा भारतलाई आइसिसी यू–१९ विश्वकप च्याम्पियन बनाएका कप्तान उन्मुक्त चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । लुम्बिनी लायन्सले इन्डियन प्रिमियरि लिग (आइपिए)का चर्चित खेलाडी चन्दलाई बुधबार अनुबन्ध गरेको हो । विश्वकप तथा आइपिएलका अनुभवी खेलाडीको आगमनले लुम्बिनी बलियो रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ । 

सन् २०१२ को यू–१९ विश्वकपमा चन्दको कप्तानीमा भारतले अस्ट्रेलियालाई फाइनलमा ६ विकेटले पराजित गरेको थियो । अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी ५० ओभरमा आठ विकेट गुमाएर २२५ रन बनाएको थियो । कप्तान चन्दको शतकीय इनिङ्सको मद्दतमा भारतले अस्ट्रेलयामाथि चार विकेटको सनसनी जित निकालेको थियो । उपाधि भिडन्तमा चन्दले १३० बलमा सात चौका र ६ छक्का प्रहार गरेका थिए । 

विश्वचर्चित तथा महँगो आइपिएलमा उनले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्सबाट प्रतिस्पर्धा गरेका छन् । उनले आइपिएलमा २१ खेलमा २० इनिङ्स खेल्दै तीन सय रन बनाएका छन्, जसमा एक अर्धशतक बनाए । उनले लिस्ट ‘ए’मा १२० खेलमा चार हजार ५०५ रन बनाएका छन् । जसमा सात शतक तथा ३२ अर्धशतक समावेश छ । यसैगरी, पहिलो श्रेणीमा चन्दले ६७ खेलमा आठ शतकको सहयोगमा ३ हजार ३७९ रन जोडेका छन् । 

चन्द अहिले अमेरिकाको मेजर लिग क्रिकेटमा आबद्ध छन् । जहाँ उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पहिलो सिजनको एनपिएलमा राम्रो प्रदर्शन गर्ने उनले बताए । ‘नेपाल प्रिमियर लिगको पहिलो सिजनमा लुम्बिनीबाट मैदानमा उत्रिन आतुर छु,’ उनले भने, ‘अहिलेसम्म प्राप्त गरेको क्रिकेटको अनुभव एनपिएलमा भरपुर प्रयोग गर्न चाहन्छु ।’ लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले विश्वस्तरीय खेलाडीलाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताए । त्रिवि क्रिकेट मैदानमा एनपिएल १५ मंसिरदेखि ६ पुसम्म चल्नेछ । जसमा आठ फ्रेन्चाइज टोली छन् । 

‘फेस अफ कर्णाली याक्स’मा खड्का
हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’का रूपमा भिœयाएको छ । कर्णालीले एनपिएलका लागि खड्कालाई आबद्ध गरेको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालमा क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ खड्काले भनिन्, ‘कर्णालीले नेपाली क्रिकेटलाई विश्वमाझ पुर्याउने योजना ल्याएको छ । यसैको प्रभावले कर्णालीसँग जोडिन पुगेकी हुँ ।’

उनले स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनकै प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसंग सुनाइन् । ‘नेपालकी सावित्राले फ्रान्समा व्यावसायिक फुटबल खेलिरहनुभएको छ । उहाँले पनि फ्रान्समा नेपाल र नेपालीलाई चिनाउनुभएको छ,’ खड्काले भनिन्, ‘त्यसैले पनि खेलकुदले मलाई प्रभावित पार्यो ।’ 

यसैबिच, कर्णालीले आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुनील खनालको स्वर, संगीत र शब्द छ । टोलीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरे । 

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् । अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्सन झा, देव खनाल र नन्दन यादवलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित ऋत गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । 

सुझावित समाचार