मकवानपुरको मनहरीमा बुधबार बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट महोत्तरीका लागि छुटेको प्रदेश २-०३-००१ ख ३६२९ नम्बरको बस मनहरी गाउँपालिका– ७ समिडाँडास्थित पूर्व–पश्चिम लोकमार्गमा दुर्घटनामा परेको हो ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बस आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेको छ । दुर्घटनामा परेर घाइते भएका ३५ मध्ये २८ जनाको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
जसमध्ये १३ जनाको मध्यम र १५ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ । यसैगरी स्थानीय मनहरी अस्पतालमा तीनजना सामान्य अवस्थाका घाइतेको उपचार भइरहेको र हेटौँडा अस्पतालमा उपचाररत चारजना घाइतेको डिस्चार्ज भइसकेको प्रवक्ता अर्यालले बताए ।
बसका चालक महोत्तरीको पिपरा गाउँपालिका– २ का ३७ वर्षीय जयकिशोर कापरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।