राहुल लिम्बूलाई दोस्रोपटक ‘स्टोन स्किपिङ’ प्रतियोगिताको उपाधि

शनिबार, १७ कार्तिक, २०८१
डिजिटल संस्करण

अघिल्लो वर्षकै विजेता राहुल लिम्बू दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप (पानी सुल्के प्रतियोगिता)काे विजेता भएका छन् । उनले ८८ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगिताको उपाधि जितेका हुन् ।

इन्ट्री राउन्डमा १२ स्किप गरेका उनले फाइनल राउन्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भए । उनले उपाधिसहित २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । दोस्रो उपाधि विजेता रिमबहादुर माझीले फाइनल राउन्डमा १३ स्किप गरे । तेस्रो उपाधि विजेता गोपी राई १२ स्किप गर्दै तेस्रो बने । उनीहरूले क्रमशः नगद १५ हजार रुपैयाँ र १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

कोशी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री सदानन्द मण्डलले चतरा नहरमा ढुंगा हुइँक्याउँदै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताअघि कोशी प्रदेशका सांसदहरू विजयकुमार राई, ममता तामाङ, सपना परियार, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका साथै वडाध्यक्षहरूले ‘स्टोन स्किप’ गरेका थिए।

शुभकामना मन्तव्य राख्दै मन्त्री मण्डलले पानी सुल्के प्रतियोगिताले बाल्यकालको सम्झना पुनरावृत्ति गराएको बताए । उनले कोशी नदी किनारका बस्तीहरूको आर्थिक, सामाजिक र ग्रामीण जनजीवनसँग जोडिएको खेललाई राष्ट्रियस्तरमा लानुपर्ने विचार राखे । मन्त्री मण्डलले पानी सुल्के खेललाई सूचीकृत गर्न नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘पर्यावरण प्रवर्द्धन र एकता, खेल पर्यटनमा विविधता’ भन्ने नाराका साथ खेल पर्यटनको विकासका लागि चतरा हाइकिङ समूह र ग्रामीण पत्रकार समूहको सहआयोजनामा प्रतियोगिता गरिएको संयोजक नवराज विष्टले बताए । क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गरिएको चतरा हाइकिङका संस्थापक तथा निर्णायक विजयकुमार राउतले जानकारी दिए । प्रतियोगितामा चतरा हाइकिङका संस्थापक भीषण राई, राजन घिमिरे निर्णायक थिए ।

यो खेलको अमेरिका, आयरल्यान्ड, स्कटल्यान्डलगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिता हुन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुंगा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् । नेपालमा गत वर्षदेखि सुनसरीको चतरा नहरमा प्रतियोगिता आयोजना भइरहेको छ ।

See More On

सुझावित समाचार