पोलियोविरुद्धको खोप अभियानमा बम विस्फोट
पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सातजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बलोचिस्तान प्रान्तको मस्टुङ सहरमा राष्ट्रव्यापी खोप अभियानमा सहभागी स्वास्थ्यकर्मीको सुरक्षाका लागि भ्यानमा यात्रा गरिरहेका अधिकारीहरूलाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।
सहरका वरिष्ठ अधिकारी अब्दुल फतहले एएफपीसँग कुरा गर्दै भने, 'एक प्रहरी अधिकारी, पाँच बालबालिका र एक पसले गरी सातजनाको मृत्यु भएको छ।' विस्फोटको जिम्मेवारी तत्काल कुनै पनि समूहले लिएको छैन।
पाकिस्तान र छिमेकी अफगानिस्तानमा अहिले पनि पोलियोको प्रकोप कायमै रहेको छ र खोप टोलीलाई सुरक्षा बलविरुद्ध लड्दै आएका लडाकुहरूले बारम्बार निसाना बनाउने गरेका छन्।