नेपालले आइसिसी विश्वकप क्रिकेट लिग– २ मा सात खेलपछि जित निकालेको छ । मंगलबार राति भएको खेलमा नेपालले आठौँ खेलपछि साबिक विजेता स्कटल्यान्डलाई पाँच विकेटले पराजित गर्याे ।
अमेरिकाको डालसस्थित ग्रान्ड पियरे क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदा १५५ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा नेपालले २९.५ ओभरमा पाँच विकेट गुमाउँदै जित निकालेको हो । नेपालको जितमा आरिफ शेखले अर्धशतक बनाए ।
नेपालले पछिल्लो आठ महिनामा जितेको यो पहिलो खेल हो । यसअघि फेब्रुअरीमा नेपालले टियू मैदानमा नेदरल्यान्ड्सलाई नाै विकेटले हराएको थियो । त्यसयता सात खेल खेल्दा ६ खेल हारेको थियो । एक खेल अनिर्णीत बन्यो ।
जितपछि १० खेलमा पाँच अंक जोडेको नेपाल सातौँ स्थानमा यथावत् छ । आठ टिम सहभागी लिग– २ मा साबिक विजेता स्कटल्यान्ड नाै खेलबाट ११ अंकका साथ चौथो स्थानमा छ ।
दोस्रो जितमा आरिफले ४२ बलमा आठ चौकासहित अविजित ५१ रन बनाएका थिए । गुल्सन झाले अविजित २५, कुशल भुर्तेलले २५, आसिफ शेखले २१ र अनिल साहले १३ रन बनाएका हुन् । कुशल मल्लले सात, कप्तान रोहित कुमार एक रन बनाएर आउट भए । छैटौँ विकेटका लागि आरिफ र गुल्सनले अविजित ५७ रनको साझेदारी गरेका थिए ।
स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले दुई तथा ब्रान्ड करी, मार्क वाट र ज्याक जार्बिसले समान एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको स्कटल्यान्डका लागि मार्क वाटले ३४, कप्तान रिची बेरिङटन र माइकल जोन्सले समान १९, ब्रेन्डन म्याकमुलनले १६, म्याथ्यु क्रसले १५ र माइकल लिस्कले १४ अंक जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिएका थिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले समान दुई तथा आरिफ शेखले एक विकेट लिएका थिए ।