मिटरब्याजमा मुद्दा हालेको प्रतिशोधमा ‘हनी ट्रयापिङ’

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण

१७ लाख लिएपछि मुद्दा फिर्ता, उजुरीकर्तामाथि छानबिन हुँदै, दुई घटनामा एउटै समूहको संलग्नता 

मिटरब्याजसम्बन्धी मुद्दा हालेर पक्राउ गराएको प्रतिशोधमा एक व्यवसायीले आफ्नै साथीलाई युवती प्रयोग गरी ‘हनी ट्र्याप’मा फसाएको खुलेको छ । दोलखाका अटो व्यवसायी गणेश उप्रेतीले ठेकेदार विदुर शर्मालाई युवती प्रयोग गरी फसाएको प्रहरी अनुसन्धानले देखाएको हो । 

शर्माविरुद्ध गत जेठमा इटहरीकी एक युवतीले आफूमाथि बलात्कार भएको भन्दै दरबारमार्ग वृत्तमा जाहेरी दिएकी थिइन् । पछि सो जाहेरी फिर्ता लिन भन्दै हुलाकमार्फत निवेदन पठाएकी थिइन् । यसबिचमा १७ लाख रुपैयाँ लेनदेन भएको प्रहरी अनुसन्धानले देखाएको छ । 

ललितपुरको भैँसेपाटी प्रभागमा इटहरीकै एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर लेनदेन गरेको घटनाको अनुसन्धानमा दरबारमार्ग वृत्तको घटना बाहिर आएको हो । दुवै घटनामा एउटै समूहको संलग्नता छ । 

इटहरीका ताज इस्लामको समूहले यसरी युवती प्रयोग गरी विभिन्न व्यक्तिलाई फसाउँदै आएको हो । ठेकेदार शर्मालाई फसाउन उप्रेतीले नेपाल प्रहरीकै एसपी कमल थापासँग सल्लाह गरेको र थापाले इस्लामलाई भेटाएका थिए । दुई वर्षअघि शर्माकै उजुरीमा सिआइबीले उप्रेतीलाई पक्राउ गरी मिटरब्याजको आरोपमा आपराधिक लाभलगायत मुद्दा दायर गरेको थियो । त्यसैको प्रतिशोधमा उनलाई युवती प्रयोग गरेर बलात्कार मुद्दामा जाहेरी दिन लगाइएको ललितपुरमा भएको अनुसन्धानले देखाएको हो । 

उप्रेतीकै योजनाअनुसार इस्लामले एक युवतीलाई शर्मालाई भेट्न पठाएको र पछि प्रहरीमा उजुरी दिन लगाएका थिए । हाल ललितपुर परिसरको थुनामा रहेका इस्लामले बयानमै सो कुरा उल्लेख गरेका छन् । सोही बयानका आधारमा दरबारमार्ग वृत्तले सो घटनाको नयाँ कोणबाट अनुसन्धान अघि बढाएको छ । त्यतिखेर प्रयोग भएकी युवतीले पनि आफूले त्यसमा दुई लाख लिएको कुरा स्वीकार गरेकी छिन् । भैँसेपाटी प्रभागमा इटहरीका व्यवसायीलाई थुनाउने र दरबारमार्ग वृत्तमा उजुरी दिने युवतीहरू साथी भएको खुलेको छ । उनीहरूलाई इस्लामले ‘हनी ट्र्यापिङ’का लागि प्रयोग गर्दै आएका थिए । उनीहरूको गिरोहमा प्रहरीका अधिकारीसमेत देखिएका छन् । 

भैँसेपाटी प्रभागकी तत्कालीन प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको मिलेमतो देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने सहायक हवल्दार महेन्द्र हमाल थुनामा छन् । इस्लामसहित गिरोहमा आबद्ध सुष्मा विक, भीमादेवी थापालाई ललितपुर प्रहरीले संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ । 

यो घटनामा पनि एसपी थापाले नै इन्स्पेक्टरसँग भेट गराइदिएको खुलेको छ । सोहीअनुसार इटहरीमा भएको भनिएको बलात्कार घटनामा भैँसेपाटीमा कुटपिटको उजुरी दिन लगाएर थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गराइएको थियो । जिल्ला प्रहरी परिसर, ललितपुरले घटनाबारे जानकारी पाएपछि छानबिन गर्दा प्रहरीकै मिलेमतो पुष्टि भएको हो । सरकारी वकिल कार्यालयले एसपी थापाको समेत बयान लिन निर्देशन दिए पनि प्रहरीले बयान लिन नसकेको स्रोत बताउँछ । एसपी थापाको भूमिकाको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ ।

घटनाकै दिन एसपी र इस्लामबिच एयरपोर्टको चिकेन स्टेसन रेस्टुरेन्टमा भेटघाट हुनु, पछि पीडितलाई हायात होटेलमा बोलाएर दबाब दिनु र अर्का एक व्यक्तिलाई लागुऔषध मुद्दामा फसाउन एसपीले इटहरीबाट लागुऔषध मगाएका विषयसमेत अनुसन्धानमा खुलिसकेका छन् । प्रारम्भिक छानबिनमा दोषी देखिएपछि एसपी थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हटाइएको छ । एसपीको हकमा कस्तो कारबाही हुने कुरा छानबिन प्रतिवेदनपछि थाहा हुने प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्की बताउँछन् । 

प्रहरीकै इन्स्पेक्टर एक महिनादेखि फरार 
सिंगो प्रहरी संगठनकै बदनाम गराउने गरी ‘हनी ट्र्यापिङ’ गिरोहसँग मिलेकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन । जबकि अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको एक महिना हुन लागिसकेको छ । इन्स्पेक्टर पक्राउ नपर्दा सो घटनाका कतिपय विषय अझै अधुरै छन् । इन्स्पेक्टर र ताज इस्लामबिच कसरी सम्पर्क भयो भन्ने विषयमा अझै अस्पष्ट छ । 

कतिसम्म भने प्रहरीले इन्स्पेक्टरको मोबाइल फरेन्सिक ल्याबमा समेत पठाएको छैन । जसकारण यसमा संलग्न अन्यलाई जोगाउन लागिएको आशंका गरिएको छ । घटनामा पर्दापछाडि रहेका एसपी थापाकै चलखेलका कारण अनुसन्धान प्रभावित भएको प्रहरी उच्च स्रोत बताउँछ । छानबिन समितिमा समेत उनले बयान दिन अस्वीकार गरेकी थिइन् । 

निलम्बित इन्स्पेक्टर शाही यो घटनामा मिल्ने मात्र होइन, प्रमाण नष्टमा समेत संलग्न देखिएकी छिन् । उनले अभियुक्त ताज इस्लामको मोबाइल प्रहरी कार्यालयबाटै गायब बनाएकी थिइन् । साथै, मिलापत्र गरेबापत पीडितसँग डेढ लाख रुपैयाँ लिएको खुले पनि त्यसमा समेत विस्तृत छानबिन हुन सकेको छैन । गम्भीर घटनामा मुछिएकी इन्स्पेक्टर एक महिनासम्म पक्राउ नपर्नुले संगठनले नै उनलाई जोगाएको आशंका बढेको छ । 
 

सुझावित समाचार