नजिकिँदै गरेको तिहार र छठपर्वलाई लक्षित गर्दै पोखरामा सोमबारदेखि आठौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीको आयोजनामा सुरु मेला १६ कात्तिकसम्म चल्नेछ । पोखरा प्रदर्शनी केन्द्रमा सुरु मेलाको उद्घाटन गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले गरेकी थिइन् ।
‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावारीको सान’ भन्ने नारासहित सुरु मेलामा २३ वटा प्रदर्शनी कक्ष रहेका छन् । २३ मध्ये व्यावसायिक २०, कृषि सामग्रीका दुई र सूचनामूलक एक स्टल रहेका फ्लोरिकल्चर एसाेसिएसन नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए।
मेलामा पोखराका स्थानीयहरूले उत्पादन गरेको फूल व्यवसायीले सीधै लगेर बेच्न पाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए। प्रदर्शनीको करिब २० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ। ०६२ सालमा स्थापना भएको एसाेसिएसनले पुष्प व्यावसायिक विकास विस्तार तथा प्रवर्द्धनका लागि पुष्प मेला प्रदर्शनीको आयोजना गर्दै आएको सुवेदीले जानकारी दिए ।
पोखरा महानगरपालिकाले सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँदेखि एक सय ८० रुपैयाँ निर्धारण गरेको छ। स्थानीय उत्पादनलाई प्रयोग गर्न जोड दिँदै सानो मालाको एक सय, मध्यमको एक सय ५० र ठुलो मालाको एक सय ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
पोखरामा वार्षिक रूपमा करिब पाँच करोडको हाराहारीमा फूलको कारोबार हुँदै आएकोमा तिहारमा मात्र दुई करोडको हाराहारीमा फूलको कारोबार हुने एसोसिएसनले जनाएको छ। जसमध्ये ४० प्रतिशतभन्दा बढी फूल देशका अन्य ठाउँसँगै विदेशबाट समेत आउने गरेका छन्।