नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा दुई स्वर्णसहित एक रजत पदक जितेका छन् । अमेरिकाको फ्लोरिडामा २६ देखि २७ नोभेम्बरसम्म भएको मिक्स मार्सल आर्टस्मा कमलले पुरुष ब्लाक बेल्टको सफ्ट स्टायल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण जितेका हुन् । उनी ग्रान्ड च्याम्पियन खुलाको फम्समा रजतमा सीमित भएको नेपाल उमा कुङ्फु संघले जनाएको छ ।
यसअघि कमलले आफ्नो खेल करिअरमा विभिन्न राष्ट्रमा भएको प्रतियोगितामा ६ स्वर्ण, तीन रजत र चार कांस्य जितेका छन् । कमलले थाइल्यान्डमा सन् २०१८ मा भएको विश्व च्याम्पियनसिपमा समान एक स्वर्ण र रजत हात पारेका थिए । सन् २०१८ मा इंग्ल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा समान एक स्वर्ण र एक कांस्य तथा क्रोएसियामा सन् २०१९ मा भएको वल्र्ड मार्सल आर्टस् गेम्समा उनले दुई स्वर्ण जितेका थिए ।
अस्ट्रियामा सन् २०१९ मा भएको विश्वकपमा उनले दुई रजत र एक कांस्य हात पारेका थिए । इंग्ल्यान्डमा सन् २०२३ मा भएको युरोपियन च्याम्पियनसिपमा उनी एक स्वर्ण र एक कांस्यमा सीमित भए । नेपालका अनुपले पुरुष ७० केजीमुनि ओरिएन्टल बक्सिङ लाइट वेटमा स्वर्ण, लाइट कन्ट्याक्ट र एमएमए लाइट, ओपन क्लासमा रजत तथा किक लाइटमा कांस्य जिते । यसअघि अनुपले जापानको टोकियोमा भएका विभिन्न संस्करणका सुक वाङकिन्थोङ मुवाँथाईमा चार स्वर्णलगायतका पदक हात पारेका छन् ।
सोही प्रतियोगितामा नेपाल उमा कुङ्फु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सिद्धार्थ र अनुप अमेरिकाको न्युयोर्कबाटै प्रतियोगितामा सहभागी भएका हुन् ।