ओपनरद्वय आशिफ शेख र अनिलकुमार साह तथा रोहितकुमार पौडेलले अर्धशतक बनाए पनि नेपाल आइसिसी पुरुष विश्वकप क्रिकेट लिग- २ को त्रिकोणात्मक एकदिवसीय शृंखलामा अमेरिकासँग तीन विकेटले पराजित भएको छ ।
आइतबार डालसस्थित नेपालले टस हारेर ब्याटिङ गर्दै नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अमेरिकाले ४९.४ ओभरमा सात विकेट गुमाउँदै जित निकाल्यो । अब, नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
हारसँगै नाै खेलमा तीन अंक जोडेको नेपाल सातौँ स्थानमा छ। जित निकालेको अमेरिका १० खेलमा १४ अंकका साथ दोस्रो स्थानमा छ ।
अमेरिकाका लागि सयान जहाँगिरले ९७ बलमा १२ चौका र चार चौकासहित सर्वाधिक १०४ रनको योगदान गरे। कप्तान मोनान्क पटेलले ७६ बलमा पाँच चौकाको मद्दतले ६२, हरमित सिंहले ४४ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५७, सड्ली भान साल्क्विकले अविजित २९, जसदीप सिंहले अविजित ११ र साइतेजा मुक्कामलाले ११ रन बनाएका थिए । नेपालका लागि कुशल भुर्तेलले चार, सोमपाल कामीले दुई र ललित राजवंशीले एक विकेट लिए।
यसअघि नेपालका कप्तान रोहितकुमार पौडेलले ७५ बलमा आठ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९६ रन बनाए ।अनिलकुमार साहले ६२ बलमा पाँच चौकाको मद्दतले ५६, आसिफ शेखले ५३ बलमा सात चौका र एक छक्काको मद्दतले ५२ रन बनाए । पहिलो विकेटका लागि अनिल र आसिफले ९८ रनको साझेदारी गरेका थिए ।