चितवनको माडी नगरपालिका– १ चैनपुरनिवासी पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ। नवलपुरको गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएमका सहस्टेसन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीको हृदयाघातका कारण निधन भएको हो।
शनिबार राति छाती दुखेपछि क्षेत्रीलाई परिवारले तत्काल अस्पताल लगेको थियो । तर, उनको बाटोमै मृत्यु भएको परिवार स्राेतले जनाएको छ। पत्रकारितामा सत्य, इमानदारी र समर्पणका लागि परिचित क्षेत्री स्थानीय समाचारको विश्वसनीयता र समुदायप्रतिको उत्तरदायित्वलाई सदैव प्राथमिकता दिने गर्थे।
उनको असामयिक निधनले चितवनको सञ्चार क्षेत्र र उनलाई नजिकबाट चिनेका सबैलाई स्तब्ध बनाएको छ। उनी पत्रकार महासंघ चितवनका सदस्य पनि हुन् । दिवंगत क्षेत्रीको अन्त्येष्टि आज देवघाटमा गरिने परिवारले जनाएको छ।