दमक हत्या प्रकरण : आरोपीलाई राजनीतिक संरक्षण भएको भन्दै आफन्त र स्थानीय आक्रोशित

प्रहरी कार्यालयको गेट अगाडि टायर बालेर प्रर्दशन

शनिबार, १० कार्तिक, २०८१
डिजिटल संस्करण

झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यमु निरौलाको हत्या प्रकरणमा आरोपीलाई राजनीतिक संरक्षण भएको भन्दै आफन्त र स्थानीय आक्रोशित भएका छन्।

निरौलाको हत्या भएको चार दिन बितिसक्दा पनि हत्यारालाई पक्राउ गर्न नसक्नुले राजनीतिक संरक्षण नै भएको उनीहरूको ठहर छ। हत्यारालाई पक्राउ नगरेसम्म शव नबुझ्ने भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्।

शनिबार आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालयको गेटअगाडि टायर बालेर प्रदर्शन गरेका छन्। प्रहरी कार्यालयअगाडि नै टायर बालेर प्रदर्शन गरेपछि अहिले त्यहाँको स्थिति तनावपूर्ण छ।

हत्यामा संलग्न भएको भन्दै परिवारले बुधबार दमक– ८ का बुद्धि थापा, दमक-८ का नम चेम्जोङ, दमक– ३ का राजु भनिने शेरबहादुर नेम्वाङ, संखुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, मोरङ उर्लाबारी– ६ का प्रकाश कार्की, उर्लाबारी– ७ का ध्रुव गौतम र सुनसरी इटहरीका डेबिड घलेविरुद्ध जाहेरी दिइएको थियो। किटानी जाहेरीमा परेकामध्ये थापा एमाले कार्यकर्ता हुन्।

थापा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन्। बुद्धि एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाइ, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीका सालो हुन्। प्रहरीले हत्या आरोपित सातजनामध्ये मंगलबार दुईजनालाई पक्राउ गरेको थियो। अन्य पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हत्या भएको स्थल दमक-३ मा पुगेका दुईवटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ। जाहेरी परेकाबाहेक केही अरूको पनि संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ। हत्या भएको पाँच दिनसम्म पनि आरोपित पक्राउ नभएको भन्दै आफन्तले शव बुझेका छैनन्। शव दमक अस्पतालमा राखिएको छ।

सुझावित समाचार