‘पाटनको टोले गुन्डा भन्थे, साफमा स्वर्ण दिलाएँ’

शनिबार, १० कार्तिक, २०८१
डिजिटल संस्करण

सन् १९९९ मा काठमाडौंमा भएको आठौँ दक्षिण एसियाली खेलकुद (साफ)मा नेपालले ३१ स्वर्ण पदकसहित पहिलोपटक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो । जुन प्रतियोगितामा डेब्यु गरेको कराँतेबाट मात्रै १४ स्वर्ण पदक प्राप्त भए । त्यही साफमा नेपालको तर्फबाट रवि महर्जनले पनि स्वर्ण पदक जित्न सफल भए । ५५ केजी तौलमा मात्र दुई फाइट खेलेका महर्जनले नेपालका लागि अन्तिम स्वर्ण पदक जिताएका हुन् । पाटनमा जन्मिएका उनलाई त्यसअघिसम्म समाजले टोले गुन्डा भन्थ्यो । जंगी स्वभावका उनले पाटन ४० ज्यापु समाजको इतिहासमा देशलाई पहिलो स्वर्ण पदक जिताउने कीर्तिमान बनाए । तर, खेलेरै खान र परिवार धान्न गाह्रो भएपछि दक्षिण कोरियामा १० वर्ष हराए । त्यहाँबाट फर्किएपछि व्यापार–व्यवसायमा लागे । हाल उनी कराँते महासंघको केन्द्रीय सदस्य छन् । महर्जनले २४ वर्षको उमेरमा आठौँ साफमा जितेको स्वर्ण पदकको स्मरण नयाँ पत्रिकाका रमेश सुवेदीलाई यसरी सुनाए: 

छनोट खेलमा राष्ट्रिय च्याम्पियन 
०४६ सालमा म १४ वर्षको हुँदा नै कराँते खेल सुरु गरेँ । पढाइ मेरो निकै कमजोर थियो । पाँच कक्षाबाट माथि पढिनँ । घरपरिवारबाट पढाइमा ध्यान दिन दबाब थियो । तर, मैले पढाइ छाडेर खेल्नमै केन्द्रित भएँ । रत्न महर्जन र जगतमाया महर्जनबाट चार दाजुभाइ र एक दिदी थियौँ । ११औँ सागमा भाइ विनोदले रजत पदक जितेको छ । 

मैले सन् १९९९ मा काठमाडौंमा आयोजना भएको आठौँ दक्षिण एसियाली खेलकुद (साफ)मा ५५ केजीमा प्रतिस्पर्धा गर्ने भएँ । कराँते साफमा डेब्यु गर्ने भएपछि ललितपुर हुँदै मध्यमाञ्चलबाट क्षेत्रीय छनोट खेलेको थिएँ । नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा म पहिलो भएँ । त्यसपछि भएको क्लोज क्याम्पमा दुर्लभ कार्की, राम कार्की, नारायण तामाङ र मेरो प्रतिस्पर्धा हुने भएको थियो । एक महिनाको फरकमा छनोट खेल हुने गरेको थियो । अन्तिम छनोटमा राम कार्कीलाई हराएर म पहिलो भएँ । करिब एक महिनाभन्दा बढी क्लोज क्याम्पमा बसेका थियौँ । 

मलेसियामा एक महिनाको प्रशिक्षण
साफको तयारीका रूपमा हामीले एक महिना मलेसियामा विशेष प्रशिक्षणको अवसर पायौँ । त्यहाँ जापानलगायत एसियाका विश्वस्तरीय खेलाडीसँग प्रशिक्षण लिन पाएका थियौँ । उनीहरू नै विभिन्न प्रतियोगिता खेल्न आएका थिए । त्यस्ता खेलाडीसँग प्रशिक्षण पाउँदा निकै बलियो भएको महसुस भयो । मलेसियामा राम्रो एक्सपोजरसँगै प्रशिक्षणको अवसर पाएका थियौँ । वास्तवमै आठौँ साफको तयारीमा निकै राम्रो भएको थियो । अचेल साफअघि यस्ता प्रशिक्षण नै हुँदैनन् । 

मलेसियाको प्रशिक्षणले हामी सबै खेलाडीको आत्मविश्वास बलियो भयो । त्यहाँ एसियनस्तरका खेलाडीसँग गरेका अभ्यास र प्रतिस्पर्धाले हामी नेपाली खेलाडीले साफमा पदक जित्ने आशा पलायो । एसियालीस्तरका खेलाडीसँग खेलेपछि दक्षिण एसियाली खेलाडीसँग खेल्दा पदक आउँछ भन्ने आत्मविश्वास बढेको थियो । 

फर्किएलगत्तै खेल 
मलेसियाको प्रशिक्षणबाट फर्किएलगत्तै दुई दिनमै साफ सुरु भएको थियो । त्रिपुरेश्वरको कभर्डहलमा जानुअघि नै पदकको आशा गरिएको थियो । हामीलाई न्युरोडको होटेलमा राखिएको थियो । सबै खेलाडीको हौसला प्रदान गर्न र उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिन युवराज दीपेन्द्र शाह हामी बसेको होटेलमा आउनुभएको थियो । 

न्युरोडबाट राखेपको कभर्डहलसम्मको यात्रा रमाइलो थियो । त्यहाँ समर्थन गर्ने धेरै थिए । त्यसपछि मलाई पदक जित्नुपर्ने दबाब महसुस भयो । मेरो खेल भने सबैभन्दा अन्तिममा थियो । मेरा गुरुहरू दावा गुरुङ र मीनकृष्ण महर्जनले एउटा पदक जित्नुपर्छ । जिन्दगी नै फरक चल्छ भन्नुभएको थियो । जसरी हुन्छ पदक जित्नुपर्छ भन्ने थियो । 

पहिलो खेल नै भारतीय खेलाडीसँग
युवराज दीपेन्द्र सरकार पनि पदक आउँछ भनेर रंगशालामै आउनुभएको थियो । मेरा परिवार पनि आएका थिए । सबै गेटमा बसेका थिए । मैले आफन्त सबैलाई कभर्डहलमा छिराउन पाइनँ । तर, पछि अरूले छिर्न दिएछन् । राखेपको कभर्डहलभित्र प्रतिस्पर्धा गरिरहँदा युवराज दीपेन्द्रसँगै अन्य विशिष्ट व्यक्ति थिए । म्याटमै आएर हौसला बढाउनुभएको थियो । यो क्षण जिन्दगीमा बिर्सिंदिनँ । मेरो पहिलो खेल नै भारतका खेलाडीसँग थियो । उसको खेल कहिल्यै देखेको थिइनँ । मलाई जसरी हुन्छ, नम्बर ल्याउनुपर्छ भन्ने मात्रै थियो । मैले लगातार प्रहार गरेँ । भारतीय खेलाडीलाई एकोहोरो दबाबमा राखेर ६–० को जित निकाल्न सफल भएँ । 

पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेँ 
मेरो फाइनलअघि नै साथीहरू दीपक श्रेष्ठ, गंगाराम महर्जन, प्रीति डंगोल सबैले स्वर्ण पदक जितिसकेका थिए । मलाई फाइनल कसरी खेल्ने र जित्ने भन्ने मात्रै थियो । मनमा यस्तै कुरा खेलिरहेका थिए । कराँतेले स्वर्ण पदक जित्ने सपना बोकेको थिएँ । मन बलियो बनाउँदै म्याटमा पुगेँ । जसरी पनि जित्छु भन्ने थियो । पाकिस्तानी खेलाडी पनि म्याटमा आयो । खेल सुरु भएपछि नै म ऊमाथि जाइलागेँ । निरन्तर आक्रमण गरिरहेँ । फलतः नतिजा मेरो पक्षमा ६–० ले आयो । बल्ल सपना पूरा भयो । समर्थन गर्न आएका मान्छेहरूको ताँतीले कभर्डहल नै भरिएको थियो । अनि मेरो सपना पूरा भयो भन्ने लाग्यो । 

जितेपछि सम्मान बढ्यो
मैले देशका लागि पदक जितेपछि पत्रपत्रिकामा पूरै छाएको थिएँ । जताततै मेरै चर्चा थियो । मलाई रवि महर्जन भन्दा पनि पाटन समाजले गोमय भनेर चिन्छन् । समाजमा मलाई घृणा गर्ने धेरै थिए । म पनि फरक खालको मान्छे । मलाई कसैले पनि मन पराउँदैनथे । बच्चैबाट हरामी मान्छे भएर पनि होला । २०–२२ वर्षको उमेरमा मलाई कसैले छुन सक्दैनथ्यो । वडामा मान्छे चुट्दै हिँड्ने स्वभाव थियो । मलाई छुँदा फोहोर लाग्छ कि जस्तो पनि गर्थे । मबाट अलि टाढा नै हुन चाहन्थे । टोले गुन्डा नै भन्थे ।

तर, जब मैले पदक जितेँ, सबैले सम्मान गरे । म पनि सुध्रिनुपर्छ भनेर सुध्रिनतर्फ लागेँ । जब मैले पदक जितेँ, ¥याली नै निकाल्यो । पाटनमा ज्यापु समाजको ४० टोल छ । यहाँबाट अन्तर्राष्ट्रिय पदक जित्ने म भाग्यमानी खेलाडी पनि हुँ । जुन समाजले मलाई घृणा गथ्र्याे, अहिले धेरैले सम्मान गर्छन् । मैले त्यही समाजनका लागि कीर्तिमानी स्वर्ण पदक जिताएँ । 

घडेरी दिने घोषणा त भयो तर...
आठौँ साफ हुँदा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले पदक विजेता खेलाडीलाई घडेरी नै दिने घोषणा गर्नुभएको थियो । यदि घडेरी नभए स्वर्ण विजेता खेलाडीलाई चार आना जग्गा दिने घोषणा पनि भयो । तर, सरकारले बाचा पूरा गर्न सकेन । त्यसपछि खेलाडीलाई पाँच लाख दियो । सुरुमा राज्यले डेढ लाख दिने घोषणा गरेको थियो । विभिन्न संघ–संस्थाबाट गरी मैले १० लाखजति नगद पुरस्कार पाएँ । 

देश छाड्ने निर्णय गरेँ
पदक जितेपछि मेरो विवाह पनि भयो । बच्चा पनि भए । दुई छोरी छन् । मेरो तलब यहाँ २८ सय मात्रै थियो । तर, यसले घरपरिवार पाल्न निकै गाह्रो भयो । खानै नपुग्ने अवस्था आयो । दक्षिण कोरियामा कराँते च्याम्पियनसिप हुँदै थियो । मैले मीनकृष्ण (हाल बागमती प्रदेशका खेलकुदमन्त्री) दाइलाई विदेश जाने भनेँ । उहाँले हुँदैन भन्नुभयो । म कोरिया खेल्न गएका वेला उतै लुकिदिएँ । म भागेको भनेर मीनकृष्ण दाइ एक वर्ष बोल्नुभएन । बल्ल–बल्ल बोल्ने बनाएँ । खासमा नेपालमा बस्नै सकिनँ । जनयुद्धको समय थियो । माओवादीमा जान दबाब थियो । 

यसपछि कोरियामा बस्न सहज हुने सोचेर उतै बसिदिएँ । भविष्य सोचेँ । परिवारलाई सोचेँ । अनि १० वर्ष उतै बसेँ । त्यहाँ बस्दा पनि नेपाली खेलाडीलाई बोलाएर सम्मान गर्ने काम भएको थियो । फुटबलका पूर्वकप्तान राजुकाजी शाक्य, कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, संगिना वैद्य, दीपक विष्ट धेरैलाई सम्मान गरियो । १० वर्ष बसेपछि स्वदेश फर्कने निर्णय लिएँ । अहिले कहिलेकाहीँ प्रशिक्षण गराउँछु । बिजनेस पनि गरेँ । अहिले कराँते महासंघकै सदस्य छु ।

See More On

सुझावित समाचार