‘स्विङ’ राज्यमा निर्भर अमेरिकी राष्ट्रपतीय निर्वाचन

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपतीय चुनावमा विभिन्न कारक, विशेषतः इलेक्टोरल कलेज प्रभावित भएको अवस्थाले कडा प्रतिस्पर्धाको संकेत गर्छ

५ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदै छ । कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । नतिजा कसको पक्षमा जान्छ, भनिहाल्ने अवस्था छैन । विभिन्न कारक विशेषतः इलेक्टोरल कलेज प्रभावित भएको अवस्थाले कडा प्रतिस्पर्धाको संकेत गर्छ । स्यामुएल हन्टिङटनले एकपटक अमेरिकालाई ‘ट्युडर पोलिटी’ भनेर वर्णन गरेका थिए । ट्युडर पोलिटी एक यस्तो राजनीतिक व्यवस्था हो, जहाँ चरम विकेन्द्रीकरण र राष्ट्रिय एकरूपताको कमीलाई जोड दिइन्छ । र, अमेरिकामा असमान शक्ति विनियोजित छ । केन्द्रीय निर्वाचन आयोगले चुनावको निरीक्षण गर्ने भारतको ठिकविपरीत अमेरिकाले राज्यलाई महत्वपूर्ण शक्ति प्रदान गर्छ र यसमा चुनावी नियममा हुने नियन्त्रण पनि समावेश छ । यो इलेक्टोरल कलेजमा सबैभन्दा बढी स्पष्ट हुन्छ र यो एक अद्वितीय प्रणाली हो, जसले सम्भावित रूपमा लोकप्रिय मतलाई अवमूल्यन पनि गर्न सक्छ ।

अमेरिकामा २४ करोड ५० लाख योग्य मतदाताका साथ करिब ३३ करोड ५० लाख मानिस छन् । मतदाता सहभागिता सन् २०२० मा झैँ ६६ देखि ६७ प्रतिशत पुग्यो भने करिब १६ करोडदेखि १६ करोड ५० लाख मत खस्नेछ । यसो भएमा अमेरिकी चुनाव भारत र इन्डोनेसियापछिको तेस्रो ठुलो चुनाव बन्नेछ । जातिका आधारमा सबैभन्दा ठुलो मतदान समूहमा श्वेत (६७ प्रतिशत), ल्याटिन (१३ प्रतिशत), अश्वेत (१२ प्रतिशत) र पाँच प्रतिशत एसियाली छन् । सन् २०२० मा अल्पसंख्यकले धेरै हदसम्म डेमोक्य्राट उम्मेदवारलाई समर्थन गरेका थिए, अर्थात् ६५–८७ प्रतिशत अल्पसंख्यकले डेमोक्य्राटलाई मतदान गरेका थिए । अहिले अल्पसंख्यक समूहमा डेमोक्रेटिक उम्मेदवारप्रतिको समर्थनमा गिरावट भएको देखिन्छ भने रिपब्लिकन उम्मेदवारप्रति समर्थन यथावत् छ ।

विशेषगरी राष्ट्रपति ओबामाले अश्वेत मतदातालाई लैंगिक पूर्वाग्रहबाट बच्न आग्रह गरेपछि अश्वेत पुरुष परिवर्तन हुन सक्ने देखिन्छ । तथापि अश्वेत महिलाका तुलनामा सातदेखि आठ प्रतिशत कम अश्वेत पुरुषले ह्यारिसलाई मतदान गर्ने बताएका छन् । लामो समयदेखि डेमोक्य्राटिक चुनावी रणनीतिकार रहेका जेम्स कारभिलका अनुसार केही अश्वेत पुरुषले पार्टीमा अत्यधिक नारीकरण भएको महसुस गरेर महिला राष्ट्रपतिको प्रतिरोध गर्छन् । यो अनिच्छा अश्वेत पुरुषबाहिर पनि विस्तार हुन सक्छ । किनभने, अमेरिकामा सधैँ पुरुष राष्ट्रपति भएका छन् । 

प्यु रिसर्च सेन्टरका अनुसार रिपब्लिकन मतदातामा ७९ प्रतिशत श्वेत छन् । यसकारण श्वेत रिपब्लिकन पार्टीको सबैभन्दा ठुलो मतदाता समूहमा पर्छन् । सन् २०२१ मा २८ प्रतिशत अश्वेत, २१ प्रतिशत ल्याटिन र ६१ प्रतिशत एसियाली जनसंख्याको तुलनामा ४२ प्रतिशत श्वेत अमेरिकीले स्नातक उत्तीर्ण गरेका थिए । ट्रम्पका श्वेत समर्थकमध्ये झन्डै दुईतिहाइ गैर–कलेज–शिक्षित छन् । 

गैरश्वेत समुदायमा शिक्षामा आधारित वर्ग विभाजनमा कम ध्रुवीकरण देखिन्छ । ट्रम्पले गैर–अश्वेत गैर–कलेज–शिक्षित मतको मात्र ३१ देखि ३२ प्रतिशत प्राप्त गर्ने अपेक्षा गरिएको छ । यो समूहको लगभग दुईतिहाइ मतले ह्यारिसलाई समर्थन गर्छ । समग्रमा अधिकांश कलेज–शिक्षित श्वेतले डेमोक्य्राटलाई र गैर–कलेज–शिक्षित श्वेतले रिपब्लिकनलाई मत दिनेछन् । गैर–श्वेत समुदायमा वर्गभन्दा जाति र जातीयता प्रधान देखिन्छ । राष्ट्रिय मतमा ह्यारिस अग्रस्थानमा रहे पनि इलेक्टोरल कलेजले नतिजा तय गर्नेछ । अर्थात्, लोकप्रिय मत पाउने तर राष्ट्रपति पद गुमाउने अवस्था आउन सक्छ, अर्थात् सन् २००० र २०१६ को नतिजा पुनरावृत्त पनि हुन सक्छ । 

इलेक्टोरल कलेजमा पाँच सय ३८ मत छन् । जहाँ सदनका लागि चार सय ३५, सिनेटका लागि सय र वासिंगटन डिसीका लागि तीन मत तोकिएको छ । यो मत विभाजन पूर्ण रूपमा लोकप्रिय मतमा आधारित छैन, किनभने सिनेटले प्रत्येक राज्यलाई जनसंख्याको पर्वाह नगरी दुई मत दिएको छ, अर्थात् सानो–राज्यबाट सिर्जित पूर्वाग्रह सतहमा आउँछ । राष्ट्रपति पद जित्न उम्मेदवारलाई दुई सय ७० इलेक्टोरल मत आवश्यक हुन्छ । क्यालिफोर्निया र न्युयोर्कजस्ता केही राज्यले डेमोक्रेटिकलाई विश्वसनीय रूपमा मतदान गर्छन्, जबकि टेक्सास र फ्लोरिडामा दृढ रूपमा रिपब्लिकन मतदाता छन् । हाल ह्यारिससँग दुई सय २६ र ट्रम्पसँग दुई सय १९ मत छन् । बाँकी मत निर्वाचन प्रतिस्पर्धा वा तीव्र रूपमा मतदाता परिवर्तन हुने ‘स्विङ’ राज्यबाट आउनेछन् । हाल अमेरिकामा सात स्विङ राज्य अर्थात् पेन्सिलभेनियामा १९, जर्जियामा १६, नर्थ क्यारोलिनामा १६, मिसिगनमा १५, एरिजोनामा ११, विस्कन्सिनमा १० र नेभाडा ६ मत छन् ।

यी मत कसका पक्षमा जान्छन्, त्यो अनिश्चित छ, किनभने यी क्षेत्रमा मतमा तीव्र परिवर्तन हुन सक्छन् र यी राज्यमा हुने चुनावी अभियानमा अत्यधिक प्रयास हुन्छन् । ह्यारिस र ट्रम्प सधैँ त्यहाँ प्रचार गरिरहेका देखिन्छन्, जबकि म्यासाचुसेट्समा जहाँ तीन दशकभन्दा बढी समय सधैँ डेमोक्रेटिक कब्जा रहन्छ, जहाँ मैले केवल एक मात्र उम्मेदवार बाराक ओबामाको सन् २०१२ को चुनावी अभियान देखेको छु । र, चुनावको परिणाम लिंग, जाति, वर्ग र भूगोलको जटिल अन्तत्र्रिmयामा पनि निर्भर हुनेछ । अर्थात्, नतिजा अमेरिका अश्वेत महिला राष्ट्रपतिका लागि तयार छ वा श्वेत सर्वोच्चता ट्रम्पसँगै पुनरुत्थान हुनेछ ? र, के अमेरिका विश्वव्यापी रूपमा संलग्न रहनेछ, वा ट्रम्पको भन्सार वृद्धि, आप्रवासन कटौती र अलगाववादतर्फ जानेछ ? भन्ने प्रश्नको उत्तरमा भर पर्छ । 

(भारस्ने ब्राउन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय अध्ययन एवं सामाजिक विज्ञान अध्ययनका सोल गोल्डम्यान प्राध्यापक हुन्) 
द इन्डियन एक्सप्रेसबाट

 

सुझावित समाचार