सिंगापुरका संस्थापकका छोराले असुरक्षाका कारण लिए बेलायतमा शरण

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

आधुनिक सिंगापुरका संस्थापक नेता ली क्वान यूका कान्छा छोरा ली सिएन याङले मंगलबार बेलायतको ‘राजनीतिक शरण’ लिएको बताएका छन् । याङले सिंगापुर सरकारले आफू, आफ्ना पत्नी र छोरालाई सताइरहेको आरोप लगाए । मंगलबार एक फेसबुक पोस्ट गर्दै उनले सुरक्षाको अन्तिम उपायको रूपमा सन् २०२२ मा आफूले बेलायतसँग राजनीतिक शरण मागेको र अहिले आएर ‘राजनीतिक शरणार्थी’को हैसियत पाएको बताएका छन् ।

‘सिंगापुर सरकारले मविरुद्ध गरेको आक्रमण सार्वजनिक रेकर्डमा छ । उनीहरूले मेरो छोरालाई कारबाही गरे । मेरी श्रीमतीविरुद्ध अनुशासनात्मक कारबाही अघि बढाए । र, वर्षौंदेखि मेरोे परिवारविरुद्ध नक्कली प्रहरी अनुसन्धान चलाइरहेका छन्,’ याङले फोसबुक पोस्टमा लेखेका छन्, ‘यी तथ्यका आधारमा बेलायतले म सिंगापुर फर्किए कारबाहीको जोखिममा रहेको ठहर गर्दै सुरक्षित रूपमा सिंगापुर फर्कन नसक्ने निर्णय गरेको छ । म अहिले पनि सिंगापुरको नागरिक नै हुुँ र आशा गर्छु कि कुनै दिन आफ्नो देश फर्कन सुरक्षित हुनेछु ।’

मंगलबार ब्रिटिस पत्रिका गार्जियनले ली सिएन याङसँगको अन्तर्वार्ता प्रकाशित गरेको थियो, जसमा उनले सिंगापुर सरकारको कडा आलोचना गरेका छन् । अन्तर्वार्तामा उनले सिंगापुरले कालो धानलाई सेतो बनाउने कामलाई सहजीकरण गरेको आरोपसम्म लगाएका थिए । ‘सिंगापुरको साहसी, झुटो दाबीभन्दा केही पर हेर्नुभयो भने वास्तविकता कस्तो छ देखिन्छ । हतियारको व्यापारको प्रमुख सहजकर्ताको भूमिका हेर्न, कालो धनमाथि नजर लगाउन, ड्रगबाट आएको धनमाथि नजर लगाउन, क्रिप्टो पैसा हेर्न विश्वले सिंगापुरमाथि नजिकबाट नजर लगाउन आवश्यक छ ।’

सिंगापुर सरकारले गार्जियनको अन्तर्वार्तामा लुङले लगाएको आरोपको प्रतिवादमा एक विज्ञप्ति जारी गरेको छ । ‘सिंगापुरमा कोही पनि कानुनभन्दा माथि छैन । संस्थापक प्रधानमन्त्री ली क्वान यूका सन्तान हुन् वा अरू कोही, सबैविरुद्ध छानबिन हुन्छ र तिनले अदालतमा उपस्थिति हुनुपर्छ,’ सिंगापुर ससरकारको विज्ञप्तिमा भनिएको छ । 

ली सिएन याङ र यसै महिनाको सुरुमा बितेकी उनकी बहिनी ली वेई लिंगले जेठा दाइ ली सियन लुङले सन् २०१५ मा दिवंगत भएका उनीहरूको पिताको अन्तिम इच्छाअनुसार परिवारको पुख्र्यौली घर भत्काउन संघर्ष गर्दै आएका छन् । सन् २०१७ देखि यो विवाद सार्वजनिक रूपमा चर्किएको छ । विवादका अर्का हिस्सा याङका दाइ लुङ सिंगापुरका पूर्वप्रधानमन्त्री हुन् ।

तीन दशकभन्दा बढी समय कठोर शासन गरेका ली क्वान यूका जेठा छोरा ली सिएन लुङले दुई दशकसम्म देशको प्रधानमन्त्री रहेर गत मेमा राजीनामा दिएका थिए । उनले आफ्ना लामो समयदेखिका लरेन्स वोङलाई शक्ति हस्तान्तरण गरेका छन् । तथापि, उनी अझै वरिष्ठ मन्त्रीको रूपमा क्याबिनेट पदमा छन् । 
 

सुझावित समाचार