लेबनानलाई १० करोड युरो सहयोग गर्ने फ्रान्सको घोषणा

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले लेबनानलाई १० करोड युरो सहयोग गर्ने बताएका छन्। पेरिसले लेबनानलाई वित्तीय सहयोग गर्ने लक्ष्यका साथ आयोजना गरेको सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। युद्धको सकेसम्म चाँडो अन्त्य हुनुपर्ने र लेबनानमा युद्धविराम हुनुपर्ने उनको भनाइ छ।

यसै सन्दर्भमा लेबनानी सरकारका प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई एकसाथ समर्थन गर्न तथा तत्काल युद्धविराम लागू गर्न आह्वान गरेका छन्।

फ्रान्सले लेबनानका लागि आधा अर्ब युरो जुटाउने लक्ष्य राखेको छ जुन संयुक्त राष्ट्रसंघको प्रारम्भिक अपिलभन्दा १० करोड बढी हो। म्याक्रोंले आर्थिक योगदानको साथै, पेरिसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव– १७०१ अनुरूप लेबनानलाई गुमेको भूमि फिर्ता गर्न सहयोग गर्ने बताएका छन्।

म्याक्रोंले हमासको सन् २०२३ अक्टोबर– ७ को आक्रमणको एक वर्षपछि इजरायलले सेप्टेम्बरको अन्त्यमा दक्षिणी लेबनानमा इरानसमर्थित हिजबुल्लाहविरुद्ध स्थलगत आक्रमण सुरु गरेको बताउँदै अन्धाधुन्ध आक्रमण रोक्नुपर्ने जनाएका छन्।

जर्मनीले पनि बिहीबार मानवीय सहायता अपिलमा लेबनानलाई ९६ मिलियन युरो योगदान गर्ने जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सहभागीहरूलाई ‘लेबनानी सशस्त्र सेनासहित सरकारी संस्थाहरूप्रति समर्थन बलियो बनाउन आह्वान गरेका छन्।

फ्रान्सले कूटनीति, मानवीय सहायता र लेबनानको आन्तरिक रक्षा राजनीतिलगायतका मामलामा चासो व्यक्त गर्दै अमेरिकालाई स्थायी युद्धविरामका लागि वार्ता गर्न २१ दिने अस्थायी युद्धविरामको वातावरण तय गर्न दबाब दिएको छ।

See More On

सुझावित समाचार