शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो सय दिनको कार्य–उपलब्धि सार्वजनिक गरेकी छिन्। बिहीबार सार्वजनिक उपलब्धिमा पाठ्यक्रम परिमार्जनको पहलदेखि दिवाखाजामा स्थानीय उत्पादनलाई प्राथमिकतासम्मका विषय समेटिएका छन्।
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार गरिएको, विद्यालय तहको परीक्षा तथा मूल्यांकन प्रणाली सुधारको कार्ययोजना बनाएको मन्त्री भट्टराईले उल्लेख गरिन्।
यसैगरी, रेडियोधर्मी पदार्थ तथा विकिरण सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयनका लागि ६ स्वास्थ्य संस्थाको अनुगमन गरेको, विद्यालय तहको पाठ्यक्रम परिमार्जन कार्य थालनी गरेको, मुगुलाई साक्षर घोषणा गरेको, मातृभाषामा शिक्षासम्बन्धी मापदण्डको मस्यौदा तयार पारेको उपलिब्धमा उल्लेख छ।
अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन कार्ययोजना तयार गरेको, परीक्षा तथा मूल्यांकन प्रणालीमा सुधारको कार्ययोजना तयार गरेको, विश्वविद्यालयको विधेयकको मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पठाएको, उच्च शिक्षा विधेयकको मस्यौदा नेपाल कानुन आयोगमा पठाएको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विधेयकको मस्यौदा अर्थ मन्त्रालयको सहमतिका लागि पठाएको मन्त्री भट्टराईले जानकारी दिइन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रम सुधारको खाका तयार पारेको, विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरूबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरू व्यवस्थित गर्ने कार्ययोजना बनाएको उल्लेख गरिएको छ।