उत्तरकोरियाले अक्टोबरमा कम्तीमा तीन हजार सेना रुसमा पठाएको ह्वाइटहाउसले दाबी गरेको छ। ह्वाइटहाउसका अनुसार ती सेना युक्रेनविरुद्धको लडाइँमा सहभागी हुने अत्यधिक सम्भावना छ।
ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले बुधबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उत्तर कोरियाली सैनिकहरू युक्रेनसँग लड्न रुस जाँदै गरेको सार्वजनिक सूचना पाएको बताए।
सेना उत्तरकोरियाको बाेनसनबाट रुसको भ्लाडिभोस्टोकसम्म जहाजमार्फत गएको बताउँदै हाल उनीहरू रुसी सैन्य प्रशिक्षणमा रहेको किर्बीले बताए। प्रशिक्षणपछि सैनिकहरूले युक्रेनी सेनाविरुद्ध लडाइँमा संलग्न हुन सक्ने चिन्ता उनले व्यक्त गरेका छन्।
किर्बीले अमेरिकाले युक्रेनी सरकारलाई उनीहरूको अवस्थाबारेमा जानकारी दिएको बताउँदै उत्तरकोरियाले मस्को र किभबिचको द्वन्द्वमा प्रवेश गरे युद्धमा रुसी कायरतालाई उजागर गर्ने उल्लेख गरेका छन्।
युक्रेनविरुद्धको युद्धमा रुसले हरेक दिन असाधारण हताहत भोगिरहेको बताउँदै किर्बीले अझै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्तावको विपरीत युक्रेनसँग द्वन्द्व जारी राख्न चाहेको दाबी गरेका छन्।
ह्वाइटहाउसका वरिष्ठ अधिकारीले युद्धका लागि युक्रेनलाई अमेरिकी सहयोगबारे कुरा गर्दै अमेरिका युक्रेनलाई थप युद्व सामग्री प्रदान गर्ने तयारीमा रहेको बताएका छन्। उनले अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई सहयोग गर्न कटिबद्ध रहेकोसमेत जानकारी दिए।
युक्रेनका लागि अमेरिकी समर्थनको पुष्टि गर्दै उनले आगामी दिनमा अमेरिकाले युक्रेनविरुद्ध रुसको युद्धका समर्थकलाई लक्षित गरी महत्त्वपूर्ण प्रतिबन्धको घोषणा गर्ने जनाएका छन्।