गरिबी कति यथार्थ र कति मनोविज्ञान ?

मंगलबार, ६ कार्तिक, २०८१
डिजिटल संस्करण

नागरिकको ‘स्वऋण’मार्फत जीवनस्तर उकास्न सक्ने सम्भावना सम्पूर्ण देशमाथि अझ सशक्त रूपले लागू हुन सक्छ

मूल आशय : यस लेखमा एउटा लुकेको र झट्ट नदेखिने धनराशिको स्रोतलाई प्रकाशमा ल्याउने जमर्को गर्दै, सो अथाह धनराशिको सदुपयोगले राष्ट्र र नागरिक दुवैलाई गरिबीबाट सम्पन्नतातिर सजिलै लान सक्ने सम्भावनातिर औँल्याइएको छ । 

सन्दर्भ : नेपाल संसारकै गरिब मुलुकमध्ये एक हो भन्ने कुरा बारम्बार भनिन्छ, सुनिन्छ, सोचिन्छ अनि देशहरूको तुलनात्मक तालिकामा बारम्बार देखिन्छ, भेटिन्छ । देशको गरिबी स्वतः त्यहाँका नागरिकको गरिबीमा अनूदित नहुने कुरै भएन । 

सन्दर्भवश, सबैभन्दा पहिले थोरैभन्दा थोरै शब्दमा भन्नुपर्दा गरिबी भनेको के होला ? कुरा नचपाई सीधै भन्नुपर्दा पैसा नहुनु अथवा धनको अभावको अवस्थालाई गरिबी भन्न सकिन्छ । साहित्यकार, दार्शनिक, अर्थशास्त्री, समाजशास्त्री आदिले, विभिन्न दृष्टिकोणले गरिबी वा सम्पन्नताका बेग्लाबेग्लै खालका परिभाषा देलान् । जस्तै, ‘मनको धनी पो धनी’, ‘हातको मैला, सुनको थैला, के गर्नु धनले’ जस्ता सुन्दर, मिठा र भावनात्मक अभिव्यक्ति आआफ्ना ठाउँमा सही होलान् । तर, त्यसरी परिभाषित धनले भोका भुँडीको भोक र तिर्खाएका घाँटीको प्यास मेट्दैन । अहिले त दैनिक बिदेसिनेको लर्कोले र खाली हुँदै गइरहेका बस्तीले समेत नबोली–नाबोलीकनै नेपालको विपन्नताको परिभाषा बोलिरहेका छन्, बताइरहेका छन् । 

अर्कातिर, आवश्यक पर्ने सबै सरसामान, शिक्षादीक्षा, ओखतीमुलो आदिको चिन्ता गर्नु नपर्ने र सहज रूपले जीवनयापन गर्न सक्ने अवस्था वास्तवमा गरिबीबाट मुक्त अवस्था हो भन्न मिल्छ कि ? 

गरिबीको सायद अर्को पनि एउटा आयाम छ । र, त्यो हो– मनोवैज्ञानिक आयाम । बाकसका बाकस पैसा भएका तर एक रुपैयाँ पनि खर्च गर्ने आँट नगरी, सम्पूर्ण जीवन गरिबीमै व्यतीत गरेका कतिपय त्यस्ता व्यक्ति होलान् । प्रशस्त धनसम्पत्ति भए पनि त्यस्ता मानिस कोही छ भने ती वास्तवमा गरिब नै हुन्छन् । तिनले भएको पैसा र धनसम्पत्तिले आफूलाई आवश्यक पर्ने कुरा जुटाउन चाहिने आफैँसँग भएको त्यो धन–सम्पत्ति वा पैसा देख्दैनन् अनि त्यो पैसा खर्च गरेर किन्न सक्दैनन् ।

यस लेखमा नेपालमा विद्यमान गरिबीको अन्त्य गर्न आफूसँग भइराखेको एउटा अनन्त धनराशिको ढुकुटीतिर इंगित गरिएको छ । तर, त्यो अथाह धनराशि र गरिबीबिच एउटा तगारो छ, र त्यो हो हाम्रो मनोविज्ञान अनि हाम्रो आँट । प्रसंगवश कुरो उठेको हुनाले अलिकति त्यस्तो खाले मनोविज्ञान र आँटबारे पनि चर्चा गरौँ । 

आफ्नै सम्पत्ति खर्च गर्न नदिने मनोविज्ञान : यो मनोविज्ञान भन्ने पनि बडो गजबको कुरो हुने रहेछ । अलेक्जेन्डर महान् भन्ने गर्थे अरे, ‘भेडाले नेतृत्व गरेका सिंहहरूको सेनासँग युद्ध गर्न मलाई डर लाग्दैन । तर, सिंहले नेतृत्व गरेको भेडाहरूको सेनासँग युद्ध गर्दा भने मलाई असाध्यै डर लाग्छ ।’

कुनै वेला समाजमा सती प्रथा थियो । महिलाको दिमागमा एउटा विश्वास, एउटा आस्था यस्तरी बसेको या बसाइएको थियो कि उनीहरू आफ्ना श्रीमान्को मृत्युपछि सँगै चितामा जल्न अनि बल्न तयार हुन्थे । पछि अंग्रेजहरू भारतमा आएपछि उनीहरूले यो प्रथा बन्द गर्न खोजे । त्यसवेलाका विद्वान्, दार्शनिक, पण्डित तथा सामाजिक अगुवा प्रायः सबैले यस कुराको विरोध गरे । उनीहरूले त्यो आपराधिक चलन नभएको समाजबारे सोच्न सक्ने कुरै थिएन, त्यो जमानामा बसेर ।

यहाँ चर्चा गर्न लागिएको सम्पत्तिको कुरा पनि कतिपयलाई पत्याउनै नसकिने वा सोच्नै नसकिने हुन सक्छ । किनभने यहाँ इंगित गर्न लागिएको त्यो सम्पत्ति भविष्यमा छ र त्यो भविष्यको सम्पत्तिलाई अहिले वर्तमानमा ल्याएर उपभोग र उपयोग गर्ने कुरा असोचनीय हुन सक्छ ।

भविष्यमा गएर धनसम्पत्तिको कुम्लो ल्याएर अहिले वर्तमानका आवश्यकता परिपूर्ति गर्ने कुरा सुन्दा ‘साइन्स फिक्सन’हरूमा वर्णन गरिएका समय यात्रा वा टाइम ट्राभलका कुराजस्ता लाग्न सक्छन् । तर, कुनै जमानामा साइन्स फिक्सन लाग्ने कुराहरू अहिले साधारण लाग्छन् र हामी तिनमा अभ्यस्त भइसकेका छौँ । जस्तै, संसारको दुई विपरीत कुनामा भए पनि, त्यही अगाडि बसेर कुरा गराउन सक्ने हातेफोन वा मोबाइल, बितेका जमानाका लागि त्यस्तै साइन्स फिक्सनका कुरा हुन्थे होला । यस्ता उदाहरण कति होलान् कति ! 

अब फेरि भविष्यको त्यो अदृश्य धन र त्यसको वर्तमानमा सदुपयोगको सम्भावनाको छलफललाई अलिक अघि बढाऔँ ।

स्वऋण– भविष्यको धन वर्तमानमा ल्याउने व्यवस्था : भविष्यमा गएर, त्यहाँबाट पैसा ल्याएर वर्तमानमा कसरी खर्च गर्ने भन्ने कुरो स्वतः आउँछ । यो अवधारणालाई अझ प्रस्ट पार्दा यहाँ आफूले आफ्नै भविष्यसँग ऋण लिने कुरा गरेको हो । यसलाई शब्दको अभावमा ‘स्वऋण’ भन्दा हुन्छ होला, सायद । यसो झट्ट सुन्दा ‘ऋण’ एउटा नकारात्मक शब्दजस्तो सुनिन्छ र त्यसका जायज कारण पनि छन् । पुरानो जमानामा ‘ऋण’ दिनेको मनोविज्ञानले आफूलाई मालिक ठान्थ्यो, अनि ऋण लिनेको मनोविज्ञानले आफूलाई दास । लिएको ऋणको ब्याज तिर्दातिर्दा ऋण लिनेको उठीवाससमेत हुने गथ्र्यो । पुस्तौँपुस्ताले त्यो ब्याज तिरिरहेका पनि हुन्थे, दासत्व खेपिरहेका हुन्थे ।

आधुनिक युगमा, बैंक वा वित्तीय संस्थाबाट लिइने ऋणको सन्दर्भमा त्यस्तो मालिक र दासको मनोविज्ञान त हुँदैन, तैपनि ऋणको एक प्रकारको मनोवैज्ञानिक बोझ वा असर त भइराखेकै हुन्छ । तर, आफूले स्वयंबाट लिने ऋणको सन्दर्भमा कुनै साहु, मालिक, वित्तीय संस्था हुँदैन र पारम्परिक ऋणको मनोवैज्ञानिक बोझ पनि हुँदैन । यो त एक प्रकारले आफ्नो एउटा गोजीबाट पैसा झिकेर अर्को गोजीमा सारेजस्तै हो भन्दा पनि एक प्रकारले ठिकै होला ।

यसरी यो स्वऋण ऋण नै होइन, त्यो त आफ्नै पैसा हो भन्न सकिन्छ । तर, यसले काम भने अर्कै बाह्य स्रोतबाट आएको नयाँ आम्दानी भएसरह अनुभूति दिनेछ र त्यसैअनुसार काम गर्नेछ, जसले गर्दा व्यक्तिको जीवनस्तर उचाल्न ठुलो मद्दत पुग्न सक्छ ।

यसरी आफ्नै पैसा हुँदाहुँदै पनि बाहिरबाट आएको नयाँ आम्दानीको अनुभूत हुने अवस्थाको एउटा कुरा अर्थशास्त्रका साथीहरूले पनि गर्थे । उनीहरू त्यसलाई ‘कन्जुमर सरप्लस’ भन्थे, जसअनुसार कहिलेकाहीँ कुनै चिज किन्दा आफूले मनमा सोचेकोभन्दा सस्तो दाममा पाउँदा उब्रिएको पैसा अन्तैबाट आम्दानी भएजस्तो अनुभव हुन सक्छ अरे । तर, वास्तवमा त्यो कुनै नयाँ स्रोतबाट आएको पैसा होइन, आफ्नै पैसा जोगिँदा पनि त्यस्तो मनमा लागेको मात्र हो । 

अब भविष्यमा थुप्रै पैसा आउने ग्यारेन्टी कसले गर्ने, कसरी गर्ने भन्ने कुरो पनि आउला । तर, सरकार, समाज, सामाजिक अभियन्ताहरूले त्यति जुक्ति ननिकाल्लान् र ? देश र समाज चलाउने प्रबन्धकका मस्तिष्कसँग त्यस्ता अनेकौँ उपाय नहोलान् र ? खालि एउटा सानो उदाहरणका लागि मात्र, काम गर्न सक्ने सबैलाई यथोचित जागिर दिएर त्यहीअनुसारको मासिक तलब दिइराखे के हुन्छ ? त्यसै भत्ता दिने भनेको होइन, कामसमेतको दामको कुरा गरेको हो ।

अदृश्य धनको ढुकुटी र त्यसमा राष्ट्रको पहुँच : अहिलेसम्म व्यक्तिको सन्दर्भमा मात्र, भविष्यमा कमाइने धनलाई वर्तमानका आवश्यकता परिपूर्तिका लागि उपयोग गर्न सकिन्छ कि भन्ने एउटा सोच प्रस्ताव गरिएको थियो । त्यस्ता वर्तमानका आवश्यकतामा बस्नलाई घर, यताउति गर्न गाडी, लुगा कपडा । छोराछोरीलाई शिक्षादीक्षा आदि पर्न सक्छन् ।

माथि चर्चा गरिएको नागरिकको स्वऋण’मार्फत जीवनस्तर उचाल्न सक्ने सम्भावना सम्पूर्ण देशमाथि अझ सशक्त रूपले लागू हुन सक्छ । किनभने, पहिलो कुरा, देश भनेको त्यहाँका नागरिकको एउटा सामूहिक घर हो । अनि अर्को कुरा, एउटा नागरिकको आयु अनि उसको भविष्य सीमित हुन्छ । तर, देशको भविष्य असीमितजस्तै नै हुन्छ । अनि देशले सधैँ निरन्तर आफैँबाट ऋण (स्वऋण) अटुट रूपमा लिइरहन सक्छ । यसरी हेर्दा देशले त त्यो ऋण आफैँलाई खासै तिरिराख्नुपर्ने पनि देखिँदैन । यसरी देशले आफूले आफैँसँग लिएका ऋणले ठुल्ठुला काम गर्न सक्छ, विकासका योजना सञ्चालन गर्न सक्छ अनि आफ्ना नागरिकलाई अनेक प्रकारका रोजगारीका अवसर सिर्जना गर्न सहजै सक्छ । अनि यसरी रोजगारी पाउने नागरिकले भविष्यमा हुने कमाइबाट स्वऋणमार्फत वर्तमानमा आफ्नो जीवनस्तर सजिलै उचाल्न सक्छन् । अनि फेरि राष्ट्रले पनि यस्ता नागरिकबाट कर उठाएर वा ऋण मागेर राष्ट्रको ढुकुटी अझ बलियो बनाउन सक्छ । यी सबै कुरा गर्दा कुनै न कुनै वित्तीय अनुशासनभित्रै बसेर गर्नुपर्ने हुन्छ । भविष्यकै कुरा गर्दा. भविष्यका सबैभन्दा शक्तिशाली राष्ट्रमध्ये दुई राष्ट्र भारत र चीन दुवैसँग नेपालको भौगोलिक, सांस्कृतिक अनि ऐतिहासिक सामीप्यलाई कुनै प्रकारले समायोजन गरेर यो भविष्यको धनको ढुकुटी अझ दरिलो भरिलो पार्ने युक्ति अपनाउन सके झन् सुनमा सुगन्ध थपिने थियो होला ।

यसरी आफ्नो भविष्यको पैसा आफैँले ऋण लिएर त्यसबाट व्यक्ति र राष्ट्र दुवै एक–अर्काका परिपूरक हुँदै समन्वयात्मक रूपले आर्थिक सम्पन्नतातिर अग्रसर हुन सक्नेछन् । 

(प्रा. गौतम अमेरिकाको फ्लोरिडा विश्वविद्यालयमा प्राध्यापनरत छन् ।)
 

सुझावित समाचार