तीन दिनका लागि बन्द गरिएको हेटौँडाबाट भैँसै–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार इन्द्रसरोवर– २ स्थित सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्ने काम सकिएपछि उक्त सडकखण्ड दुईतर्फी खोलिएको हो ।
यसअघि उक्त सडकखण्ड भएर हेटौँडाबाट काठमाडौं जाने सवारीसाधनलाई रोक लगाइएको थियो भने काठमाडौंबाट हेटौँडा आउने सवारीसाधनलाई सञ्चालन अनुमति दिइएको थियो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्ने प्रयोजनका लागि बन्द गरिएको सडकखण्ड काम सकिएपछि खोलिएको जानकारी दिए । उनले सिमखोलामा निर्माण गरिएको डाइभर्सनमा थप अर्को ट्रयाक खोलेसँगै सवारीसाधन आवतजावतमा सहज हुने बताए ।
चाडपर्वमा उक्त मार्ग भएर गुड्ने सवारीको चाप धान्न कठिन भएपछि जिल्ला प्रशासन कार्यालयको विशेष अनुरोधमा प्रदेश सरकार र सडक डिभिजन कार्यालयले सिमखोलामा ह्युमपाइप राखेर थप अर्को ट्रयाक खोलेको हो । हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी सडकखण्ड एकतर्फी सञ्चालनमा आएपछि त्रिभुवन राजपथ र कान्ति लोकपथमा सवारीसाधनको चाप बढेको थियो । मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले हेटौँडाबाट काठमाडौं जोड्न सबै मार्ग सञ्चालमा आएकाले अब यात्रामा सहजता हुने बताए ।