अघिल्लो चार खेलमा भुटानको पोस्टमा २३ गोल गरेको नेपाल पाँचौँ भेटमा रोकियो गोलरहित बराबरीमा
नेपालले यसअघि चार खेलमा भुटानलाई समग्र २३ गोल गरेको थियो । तर, शुक्रबार घरेलु मैदान दशरथ रंगशालामा नेपालका महिला राष्ट्रिय खेलाडीले भुटानविरुद्ध एक गोल पनि गर्न सकेनन् । भुटानले पूरै ९० मिनेट नेपालको प्रत्येक डरलाग्दो पोस्ट चार्ज रोक्न सफल भयो । यससँगै नेपालले पहिलोपटक साफ च्याम्पियनसिपमा भुटानविरुद्ध गोलरहित बराबरी नतिजा निकाल्यो । घरेलु टोलीले भुटानसँग अहिलेसम्मकै खराब खेल खेल्यो ।
नेपालले अधिकांश समय बल पोसेसन राख्दै पोस्ट चार्ज गरेको थियो । तर, भुटानी गोलरक्षक संगीता मोंगरले नेपाली खेलाडीका हरेक गोल प्रयासलाई विफल पार्दै घरेलु टोलीलाई निराश बनाइन् । दोस्रो हाफमा नेपालले आक्रामक परिवर्तन गरेको थियो । यद्यपि, खेलको अन्तिम इन्जुरी समयसम्म पनि गोल प्रयास भए पनि नेपालको योजना सफल भएन । नेपालले पहिलोपटक भुटानको पोस्टमा गोल गर्न नसक्दा समर्थक निराश हुन पुगे । नेपालले साफ च्याम्पियनसिपको समूह चरणमा गोल गर्न नसकेको यो पहिलो अवसर हो । यसअघि साफका ६ संस्करणमा खेलेको समूह चरणमा नेपालले कम्तीमा एक गोल गरेको थियो ।
नेपालले खेलमा आधा दर्जनभन्दा बढी गोल गर्ने अवसर चुकाएको थियो । प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारीको अनुपस्थितिमा रश्मिकुमारी घिसिङ, सविता रानामगर, प्रीति राई, रेणुका नगरकोटे, अमिशा कार्की, सरू लिम्बू र रेखा पौडेललाई अग्रपंक्तिको जिम्मेवारी दिएका थिए । तर, उनीहरू सबै फाइनल थर्डमा चुक्न पुगे । कमजोर प्रतिद्वन्द्वीका रूपमा भुटानलाई नेपाली खेलाडीले लिएका थिए । यसै कारण सबैजसो खेलाडी भुटानको पोस्टमा गोल गर्न हतारिए । खेलाडीबिच एक–आपसमा गतिलो तालमेल नहुँदा नै नेपाल गोलविहीन भयो । भुटानकी गोलरक्षक संगीताले नेपालको आधा दर्जनभन्दा बढी प्रहार रोक्न सफल भइन् । यसै प्रदर्शनका कारण उनी खेलकै प्ले अफ दी म्याच भइन् ।
नेपाललाई रोकेपछि भुटानका अफिसियल र खेलाडीले खुसियाली मनाएका थिए । नेपालका प्रशिक्षक तामाङ नतिजाबाट खुसी भएनन् । खेलाडीबिच तालमेल नभएको र गोल गर्न हतार गर्दा गोलरहित बराबरीमा नेपाल रोकिएको तामाङको प्रतिक्रिया रह्यो । ‘हामीले सुरुदेखि गोल गर्न हतार गर्यौँ, मिडफिल्डरले पोसेसनमा ध्यान दिनुपर्ने थियो,’ उनले भने, ‘मिडफिल्डरले राम्रो नखेलेपछि अट्याकरहरू दबाबमा आउँदा गोल भएन ।’
घाइते भएकी रक्षक हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले आगामी खेल गुमाउने भएका छन् । ‘चोट ठुलो देखिएको छ, यी दुवै खेलाडीले बाँकी खेल गुमाउने भएका छन्,’ प्रशिक्षक तामाङले भने । भुटानकी प्रशिक्षक निकोला डेमाइनले नेपाललाई रोक्ने योजना सफल भएको बताइन् । पहिलो हाफमा भुटानले संघर्ष गरेको र दोस्रो हाफमा सुधार भएको उनको भनाइ छ । ‘पहिलो हाफमा हामी निकै दबाबमा थियौँ, दोस्रो हाफमा सुधार भयो, यो सकारात्मक नतिजा हो,’ भुटानी प्रशिक्षक निकोलाले भनिन्, ‘हाम्रो लक्ष्य समूहको शीर्ष स्थानमा रहेर फाइनल पुग्ने हो ।’ दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० ले हराउँदै शीर्ष स्थानमा रहन सफल भयो ।
खेलाडी गोल गर्न हतारिए : राजेन्द्र तामाङ, प्रशिक्षक, नेपाल
खेलको विश्लेषण गर्नुपर्दा नेपालको धेरै गोल हुनुपर्ने थियो । तर, मिडफिल्डमा सोचेको जस्तो प्रदर्शन भएन । खेलाडी आफैँ मैदानमा हराएको जस्तो देखिए । बाहिरबाट खेलाडीलाई दिएको निर्देशन सही पालना भएन । खेलाडी सुरुमै गोल गर्न हतारिए । फाइनल थर्डमा खेलाडी चुके । सावित्रा भण्डारी नहुँदा यो समस्या हुन्छ भन्ने थियो । खेलाडीले आफ्नै हिसाबले खेले । बाँकी दुई खेलमा राम्रो गर्न केन्द्रित हुन्छौँ । भुटानी गोलरक्षकले वास्तवमै राम्रो प्रदर्शन गरे ।
नेपाललाई रोक्ने योजना सफल भयो : निकोला डेमाइन, भुटान, प्रशिक्षक
पहिलो हाफमा धेरै संघर्ष गर्नुपरेको थियो । हामीले मध्यान्तरपछि सुधार गर्यौँ । हाम्रा लागि यो सकारात्मक नतिजा हो । यो त्यही टिम हो, जसले दुई वर्षअघि नेपालसँग ४–० ले हार व्यहोरेको थियो । सँगै हामी बंगलादेशसँग ८–० ले पराजित भएका थियौँ । अब, हाम्रो लक्ष्य समूहको शीर्ष स्थानमा रहने हो । तर, त्यो चुनौतीपूर्ण छ । गोलरक्षक संगीताको प्रदर्शनबाट खुसी छु । उनीजस्तो खेलाडी हुनु हाम्रा लागि राम्रो पक्ष हो ।
यसअघिका चार खेल
सन् २०१४ मा आठ गोल
सन् २०१० देखि दक्षिण एसियाली फुटबल महासंघ साफले महिला च्याम्पियनसिप आयोजना गरेको हो । नेपालले भुटानसँग सन् २०१४ मा पहिलोपटक प्रतिस्पर्धा गर्यो । नेपालले एकपक्षीय रूपमा ८–० ले बाजी मारेको थियो । पाकिस्तानमा भएको खेलमा सजना रानामगर, अनु लामा र दीपा अधिकारीले समान दुई गोल गरेका थिए । मेनुका गिरी र सावित्रा भण्डारीले समान एक गोल गरे । यही खेलबाट सावित्राले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।
सन् २०१६ मा आठ गोल
सन् २०१६ मा चौथो साफअन्तर्गत समूह ‘ए’मा नेपालले भुटानविरुद्ध खेल्यो । पहिलो खेलमै नेपालले भुटानविरुद्ध ८–० को सहज जित निकाल्यो । यसपटक सावित्राले एक्लेै ६ गोल गर्न सफल भइन् । उनले भुटानविरुद्ध पहिलो हाफमै चार र दोस्रो हाफमा दुई गोल गरेकी थिइन् । शर्मिला थापा र कृष्णा खत्रीले समान एक गोल गरे । यस संस्करणको सेमिफाइनलमा नेपाल आयोजक भारतसँग ३–१ ले पराजित हुँदै बाहिरिएको थियो ।
सन् २०१९ मा तीन गोल
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाँचौँ साफमा मोफसलमा आयोजना गरेको थियो । विराटनगरमा पहिलोपटक आयोजना भएको साफमा नेपालको पहिलो प्रतिस्पर्धी भुटान थियो । हरि खड्काको प्रशिक्षणमा रहेको नेपालले भुटानलाई ३–० ले हरायो । मञ्जलीकुमारी योञ्जन, सावित्रा भण्डारी र कप्तान निरू थापाले समान एक गोल गरेका थिए । फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भयो । यो प्रतियोगितामा नेपालले ११ गोल गर्दा मात्र तीन गोल व्यहोरेको थियो ।
सन् २०२२ मा चार गोल
सन् २०२२ को संस्करण दशरथ रंगशालामै भएको थियो । समूह ‘बी’मा नेपालले भुटानसँगै श्रीलंकासँग खेल्यो । पहिलो खेलमा भुटानविरुद्ध ४–० को जित निकाल्यो । स्ट्राइकर सावित्रा र अनिता बस्नेतले समान दुई गोल गरे । कुमार थापाको प्रशिक्षणमा रहेको नेपाल अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा थियो । भुटानविरुद्ध पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्यो ।