आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजनीतिक दलहरू ‘बेइमान’ भएको टिप्पणी गरेका छन्। राजनीतिक दलहरू मुलुक र जनतासँग गद्दारी गरेको आरोप उनले लगाए।
दसैँ, तिहार एवं छठपर्वको अवसरमा रौतहटको बौद्धीमाई नगरपालिकाको इनर्वामा आज आजपाद्वारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा अध्यक्ष साहले मुलुक र जनताको आवश्यकता एवं चाहनाअनुसार राजनीतिक दल र नेताहरूले काम गर्न नसकेको बताए।
जनता र आफ्नो मतदातालाई धोखा दिने गद्दार जनप्रतिनिधिले भोट फिर्ता गर्नुपर्ने उनको भनाइ छ। आफ्नै मतदातासँग गरेको प्रतिबद्धता पूरा नगर्ने राजनीतिक दल र नेताहरूले भोट फिर्ता गर्नुपर्ने उनले सुझाएका छन्।
‘एमाले र कांग्रेसले निर्वाचनमा छुट्टाछुट्टै गठबन्धन गरेर निर्वाचनमा सहभागी भए। जनतासँग मत मागे, उनीहरूलाई जनताले मत पनि दिए। तर, उनीहरूले आफ्नै मतदातालाई धोखा दिए। निर्वाचनमा मतदातासँग गरेको प्रतिबद्धता उनीहरूले कार्यान्वयन गरेनन्, यस्तो अवस्थामा उनीहरू भोट फिर्ता गर्नुपर्छ कि पर्दैन?’ साहले भने, ‘के कांग्रेसले एमालेसँग वा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउँछु भन्ने कुरा गरेका थिए । छुट्टाछुट्टै गठबन्धनबाट निर्वाचनमा सहभागी हुने, जनताको मत लिने र आफ्नै मतदातालाई ठग्ने काम गर्ने?’
जनताको मतको कदर नगर्ने राजनीतिक दलदेखि नेताहरूलाई बहिष्कार गर्नुपर्ने उनले बताए। जनतालाई धोखा दिने नेताहरूले भोट फिर्ता गरेर आफ्ना मतदातासँग माफी माग्नुपर्ने पनि उनले बताए। जनतासँग जे प्रतिबद्धता गरिएको थियो सोहीअनुसार राजनीतिक दल, नेताहरूले काम गर्नुपर्ने उनको भनाइ थियो।
विभिन्न भ्रष्टाचार एवं काण्डमा संलग्न नेताहरूलाई गाउँ पस्न नदिन उनले आह्वान गरे। जनतालाई भ्रममा राखेर लुट मचाएका त्यस्ता नेताहरूलाई बहिष्कार गर्नुपर्ने उनले बताए।
कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, श्रीभगवान पटेलका साथै आजपाका नेताकार्यकर्ता, सर्वसाधारणलगायतको विशेष सहभागिता रहेको थियो।