एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुईजनालाई भौतिक शास्त्रको नोबेल पुरस्कार

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानडेली जेफ्री हिन्टनले कृत्रिम बौद्धिकता (एआई)को विकासमा अग्रणी कामका लागि यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन्।

जुरीका अनुसार उनीहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कहरूसँग मेसिन लर्निङ सक्षम बनाउने आधारभूत खोज र आविष्कारका लागि’ सम्मानित गरिएको हो।

स्विडिस रोयल एकेडेमी अफ साइन्सेसले एक वक्तव्यमा भनेको छ, ‘यस वर्षको भौतिक शास्त्रमा दुई नोबेल पुरस्कार विजेताहरूले आजको शक्तिशाली मेसिन लर्निङको आधार रहेको विधिहरू विकास गर्न भौतिक शास्त्रका उपकरणहरू प्रयोग गर्नुभएको छ।’

वक्तव्यमा प्रिन्स्टन विश्वविद्यालयका ९१ वर्षीय प्राध्यापक होपफिल्डलाई ‘एसोसिएटिभ मेमोरी सिर्जना गरेको’ र ‘यसले छवि र डेटाका अन्य प्रकारका ढाँचाहरू भण्डारण गर्न र पुनर्निर्माण गर्न सक्छ’ भनी उल्लेख गरिएको छ।

जुरीले टोरन्टो विश्वविद्यालयका ७६ वर्षीय प्राध्यापक हिन्टनले ‘डेटामा स्वायत्त रूपमा गुणहरू पत्ता लगाउन सक्ने विधि आविष्कार गरेका र उक्त आविष्कारले तस्बिरहरूमा विशिष्ट तत्वहरू पहिचान गर्नेजस्ता कार्य गर्न सक्छ,’ भनेको छ।

स्टकहोममा पुरस्कार विजेताहरूको घोषणा गर्ने क्रममा हिन्टनले फोन अन्तर्वार्तामार्फत पत्रकारहरूसँग भने।
‘म अचम्मित छु... यस्तो हुन सक्छ भनेर मलाई थाहै थिएन।’

दुवैजनाले स्टकहोममा राजा कार्ल सोह्रौँ गुस्ताफबाट डिसेम्बर १० मा डिप्लोमा, सुनको पदक र १० लाख डलरको चेकसहित पुरस्कार प्राप्त गर्नेछन्। उक्त दिन आफ्नो अन्तिम इच्छापत्रमा यी पुरस्कारहरू सिर्जना गरेका वैज्ञानिक अल्फ्रेड नोबेलको सन् १९८६ मा निधन भएको वार्षिकी हो।

सुझावित समाचार