‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्...’ न्युरोडस्थित फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको संख्या भने पातलो छ । दसैँ र तिहारजस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर, यसपटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ । उनी भन्छन्, ‘दुई–चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो, तर यसपालि व्यापार कम छ ।’
पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उनको भनाइ छ । यद्यपि, फूलपातीपछि व्यापार बढ्छ कि भन्ने उनको झिनो आशा अझै छ । दसैँमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नोभन्दा छोराछोरीको खुसी महत्वपूर्ण लाग्छ । चिसो मौसम सुरु भएकाले दसैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने उनको योजना छ । ‘आफ्नोभन्दा छोराछोरीलाई दसैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भनिन् ।
ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यसपालि मूल घर सर्लाही नजाने बताए । ‘बाढीपहिरोले घर जाने बाटो बिगारेको छ । कसरी जानु ? काठमाडौंमा जेजति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ,’ उनले भने, ‘किनमेल पनि भर्खरै सुुरु हुँदै छ ।’ उनले जाडोको लुगा भने दसैँको पर्व छोपेर खरिद गर्ने गरेको बताए । पर्वमा भारी छुट पाउने हुँदा उनलाई आवश्यक सामग्री किन्न मन पर्ने सुनाए ।
काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैँमा किनमेलमा खासै जोड नदिएको बताइन् । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाइन् । गाउँ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालिको दसैँ मनाउने जाँगर छैन । दसैँ पनि काठमाडौंमै मनाउने योजना रहेको सुनाइन् । ‘आफन्तजन सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी ?,’ उनले भनिन् ।
भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए । कोभिडको वेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै असर बजारमा फेरि देखापरेको उनको अनुभव छ । ‘मान्छेको चहलपहल त छ, तर व्यापार सोचेजस्तो छैन,’ उनले भने ।