सडक मर्मत गर्दै गाउँपालिकाहरू

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

ताप्लेजुङ जिल्लाका स्थानीय सरकार सडक मर्मतमा जुटेका छन्। बाढी–पहिरोले ध्वस्त भएका सडक खुलाउन तथा स्तराेन्नति गरी सहज रूपमा यातायात सञ्चालन गर्न स्थानीय तहले पहल गरिरहेका हुन्। मैवाखोला गाउँपालिकाको दोभानदेखि गाउँपालिकाको केन्द्र साँघुसम्म तथा विभिन्न ग्रामीण सडकहरू सफा गरिसकेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए। 

‘रातारात गरेर सडक सफा गरिरहेका छौँ,’ वनेमले भने, ‘अहिले गाडी चल्दै छ, फेरि पानी पर्यो भनेचाहिँ गाह्रो हुनेछ ।’ पालिकाका ६ वटै वडामा रहेका मुख्य र शाखा सडक मर्मतसम्भार गरी यातायात सेवा नियमित गर्न कार्यपालिकाको बैठकबाट १७ वटा सडक छनाेट गरिएको अध्यक्ष वनेमले जानकारी दिए । प्रत्येक वडामा पुग्ने सडक छनोट गरी काम भइरहेको अध्यक्ष वनेमले बताए । 

स्थानीय तहको मातहतमा नरहेका ठुला सडक भने बिग्रिएर यातायात सञ्चालन नहुने भएका छन् । तर, केन्द्र तथा सडक विभागले ती सडकहरू वास्ता नगर्दा समस्या खड्किएको अध्यक्ष वमेनको भनाइ छ। तेह्रथुमको वसन्तपुरदेखि गुफादोभान हुँदै ताप्लेजुङ सदरमुकामसम्म पुग्ने मदन भण्डारी राजमार्ग बिग्रिएको छ। सो सडकलाई डुब्लिकेसन डरले स्थानीय तहले मर्मत गर्न पनि कठिन छ। सडक विभागले पनि वास्ता गर्दैन, त्यही भएर समस्या भएको उनले जानकारी दिए। जे भए पनि केही मर्मत गरेर यातायात सञ्चालन गर्ने बनाएको अध्यक्ष वनेमले बताए । 

उता, आठराई त्रिवेणी गाउँपालिकाले चाडपर्व नजिकिएसँगै वडा–वडाका सडक मर्मत तथा स्तरोन्नतिको काम जारी राखेको छ। गाउँपालिकाले जेसिबी प्रयोग गरेर अविरल वर्षाले बिग्रिएका सडक मर्मतको काम जारी राखेको हो। गाउँपालिका अध्यक्ष दीपेन पोमुले गाउँपालिकाभित्रका सडकमा सहज यात्रा गर्न मिल्ने गरी मर्मतको काम गरिएको बताए। अध्यक्ष पोमुले भने, ‘अविरल वर्षाले धेरै ठाउँको सडक बिग्रिएको छ। सम्भवतः दसैँअगावै सहज यात्राका लागि सडक मर्मतको काम सक्छौँ।’ पहिरोले अवरुद्ध बनेको फूलबारी–चोकपुर सडकको पहिरोसमेत पन्छाएको छ। 

सिरिजंघा गाउँपालिकाले पनि सडक मर्मतको कामलाई तीव्रता दिएको छ। जिल्ला सदरमुकाम जोड्ने तेल्लोक, आम्बेगुदिन सिनाम सडकको मर्मत गरेको छ। उता, बाढीपहिरोबाट प्रताडित फक्ताङलुङ गाउँपालिको हरेक क्षेत्रका सडकहरू मर्मत गरिरहेको छ।  जिल्लाको एक मात्र नगरपालिका  फुङलिङ नगरपालिकाले भने बाटो मर्मत गर्न बेवास्ता गरेको स्थानीयको भनाइ छ। नगरपालिका जनताको सेवामा नलागेको स्थानीयको गुनासो रहेको छ। 
 

सुझावित समाचार