असोज १२ गते नक्खु खोलामा आएको बाढीले बगाएकामध्ये दुईजनालाई सकुशल उद्धार गर्न सफल काभ्रे तेमालका चणिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्मान गरेको छ ।
बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक शंकर गौतम र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्मान गरेका हुन्।
प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले रियल हिरोको संज्ञा दिँदै स्वतस्फुर्त रूपमा अरूको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए। पुन्य कार्य गरेको भन्दै तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट ३० लाख बिमांक रकमको बिमालेखसहित ११ हजार नगद सम्मानस्वरूप प्रदान गरे ।
कार्यक्रममा उद्धारकर्ता चणिकलाल तामाङले आफ्नै आँखाअगाडि कसैको ज्यान जोखिममा देख्दा असह्य भएर बाढीमा हामफाली दुईजनालाई बचाउन सफल भएको बताए । सबैले आफ्नो क्षमताअनुसारको आपसी सहयोग र सदभाव राख्दा अहिलेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिने उनले बताए ।