मूल्य घटेपछि बिक्री भएन यार्सागुम्बा

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

प्रतिकिलो २५ लाखमा बिक्री हुने यार्सा २० लाखमा पनि बिक्री भएन

यार्सागुम्बाको मूल्य घटेपछि यो वर्ष बिक्री अत्यन्तै न्यून भएको छ । दार्चुलाबाट यो वर्ष ६६९ किलोग्राम यार्सागुम्बा निकासीको अनुमति दिने लक्ष्य अपि–नाम्पा संरक्षण क्षेत्रले राखेको थियो । तर, हालसम्म ३६९ किलोग्राम मात्रै यार्सागुम्बा निकासी भएको छ ।  

अन्तर्राष्ट्रिय बजारमै यार्सागुम्बाको बिक्री मूल्य घटेपछि नेपालमा असर देखिएको व्यापारी धनसिंह जागरीले बताए । ‘काठमाडौं पुगेको यार्सागुम्बासमेत बिक्री हुन पाएको छैन् । सुरुमा संकलकबाट बढी मूल्यमा यार्सागुम्बा खरिद भएको छ । अहिले आएर बजारमा मूल्य ह्वात्तै घट्यो,’ उनले भने, ‘यस्तो अवस्थामा व्यापार कसरी गर्नु ?’

आफूले गाउँबाट संकलन गरेकै यार्सागुम्बा बिक्री नभएको उनको भनाइ छ । सुरुमा गाउँमा ‘ए’ ग्रेडका यार्सागुम्बाको मूल्य २५ लाख रुपैयाँसम्म पुग्यो, अहिले बजारमा २० लाखमा पनि बिक्री नभएको उनको गुनासो छ । ‘संकलकहरूसँग महँगोमा खरिद गरिएको यार्सागुम्बा सस्तोमा बिक्री गर्नु पनि भएन,’ अर्का व्यापारी कमलसिंह धामीले भने, ‘अहिलेको बजार मूल्यले एक किलोग्राममा झन्डै पाँच लाख घाटा छ ।’ एक किलोग्राम बिक्री गर्दा नै लाखौँ घाटा हुने भएपछि मौज्दात नै राख्नु उपयुक्त हुने व्यापारीहरू बताउँछन् । खासगरी चिनियाँ व्यापारीले यार्सागुम्बा खरिद नगर्दा स्थानीय व्यापारी मर्कामा परेका छन् । 

दार्चुलाबाट यार्सागुम्बा निकासीको लागि कार्यालयले सधैँ अनुमति दिए पनि पछिल्लो समय कम हुँदै गएको अपि–नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत  विनयकुमार झाले बताए । ‘यार्सागुम्बा कहिलेसम्म बिक्री गर्ने भन्ने निश्चित समय हुँदैन,’ उनले भने, ‘निकासी भएको मितिले एक महिनासम्म म्याद नै हुन्छ ।’ 

यार्सागुम्बा निकासीबापत अपि–नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो ३१ हजार राजस्व संकलन गर्छ । कार्यालयले यो वर्ष हालसम्म एक करोड १४ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

दार्चुलाका अपिहिमाल र ब्याँस गाउँपालिकाका पाटनहरूमा यार्सागुम्बा पाइन्छ । अपि–नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार आर्थिक वर्ष ०७६/७७ मा ३२६ किलो, आर्थिक वर्ष ०७७/७८ मा ३०५ किलो, आर्थिक वर्ष ०७८/७९ मा ७२५ किलो, आर्थिक वर्ष ०७९/८० मा ४७२ केजी निकासी भएको छ । 

अपि–नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन पाँच वर्षदेखि परिषद्विहीन
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको ऐतिहासिक कालापत्थर क्याबिनेट बैठकबाट ०६७ सालमा अपि–नाम्पा संरक्षण क्षेत्र घोषणा गरेका थिए । दार्चुलाका साबिकका २१ गाविस समेटेर बनाइएको अपि–नाम्पा संरक्षण क्षेत्र परिषद् गठन गर्न पाँच वर्ष लाग्यो । परिषद्को पछिल्लो कार्यकाल १४ साउन ०७७ मा सकिएपछि पुनर्गठन भएको छैन । अपि–नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका संरक्षण अधिकृत विनयकुमार झा परिषद् पुनर्गठनका लागि पहल नहँुदा अन्योलता देखिएको बताउँछन् । ‘म आएयता परिषद् पुनर्गठनका लागि राजनीतिक दल, जनप्रतिनिधिसँग बसेर छलफल सुरु गरेको छु,’ उनले भने, ‘छिट्टै परिषद् पुनर्गठन हुने विश्वास छ ।’ 

परिषद् पुनर्गठनका लागि जिल्लास्थित राजनीतिक दलहरूका प्रमुखहरूसँग २८ असार ०८१ मा केही साझा धारणा तय गरिएको छ । पछिल्लो बसाइपछि राजनीतिक दलहरूबिच आठवटा उपभोक्ता समिति गठन गरेर समिति पुनर्गठन गर्ने विषयमा सहमतिनजिक छ । पछिल्लो प्रस्तावअनुसार ब्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकालाई कोर क्षेत्र मानेर २/२ वटा समिति गठन गर्ने दलहरूबिच करिब सहमति छ । यस्तै मार्मा, नौगाड र दुहुँ गाउँपालिका तथा महाकाली नगरपालिकामा एउटा/एउटा समिति गठन हुनेछ । परिषद् गठन ढिलाइ हुनुमा राजनीतिक सहमति नहुनु प्रमुख कारण भएको अपि–नाम्पा संरक्षण व्यवस्थापन परिषद्का निवर्तमान अध्यक्ष चक्रसिंह ह्याकीले बताए ।  भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको एक हजार ९०३ वर्ग किलोमिटर फैलिएको उक्त क्षेत्रलाई संरक्षित क्षेत्रमा समेटिएको छ ।

सुझावित समाचार