एमालेले बाढीपहिरोबाट प्रभावित भएकाको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले केन्द्रीय सचिवालयले पीडितको राहत र भौतिक संरचनाको पुनर्निर्माणका काममा सो रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । सचिवालयले पीडितहरूलाई नागरिकस्तरबाट सहयोग गर्न सबैलाई अपिलसमेत गरेको छ ।
एमालेले प्रभावित जिल्लामा जिल्ला कमिटीका तर्फबाट उद्धार, राहत, पुनर्स्थापना र अवरुद्ध सडक खुलाउने प्रयासका लागि स्वयंसेवक टोली खटाएको छ । खुर्कोट–सिन्धुली, रामेछाप–किर्नेटार–चरिकोट सडक खुलाउन एमालेको जिल्लास्थित टोली नै नियमित रूपमा खटिएको छ । सिन्धुली र रामेछापमा बाटो खुलाउन डोजरसहित एमालेको जिल्लास्थित स्थानीय कमिटीहरू परिचालित भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
बुधबारै रक्षामन्त्री मानवीर राईलाई भेटेर पूर्वसांसद तथा पोलिटब्युरो सदस्य यज्ञराज सुनुवार नेतृत्वको प्रतिनिधिमण्डलले खुर्कोट–मन्थली सडक खुलाउन सुनकोशी नदीमा तत्काल बेलिब्रिजको प्रबन्ध गर्न माग गरेको छ । राईले नेपाली सेनाको प्रबन्ध र प्राविधिक सहयोगमा तीन दिनभित्र बेलिब्रिज हाल्ने गरी काम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।