मकवानपुरको सिस्नेरीबाट नेपाली सेनाको हेलिकाेप्टरले मंगलबार साँझ दुईजना गर्भवती महिलाको उद्धार गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार इन्द्रसरोवर गाउँपालिका– ३ सिस्नेरीबाट उनीहरूको उद्धार गरिएको हो ।
प्रशासन कार्यालयका अनुसार इन्द्रसरोवर– ३ दाप्राङकी सुकीमाया वाइबा र सानुटारकी सुशीला घिसिङको उद्धार गरिएको हो । उनीहरूलाई नेपाली सेनाकाे हेलिकाेप्टरबाट उद्धार गरी ललितपुरस्थित पाटन प्रसूति अस्पताल पुर्याइएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थ चिलुवालले इन्द्रसरोवर गाउँपालिकाले दुईजना गर्भवती महिलाको अवस्था गम्भीर रहेको जानकारी गराएपछि गृह मन्त्रालयसँगको समन्वयमा मंगलबार साँझ नेपाली सेनाको हेलिकाेप्टरको सहयोगमा उनीहरूको उद्धार गरिएको जानकारी दिए ।
सुत्केरी हुने समय नाघिसकेको र चार–पाँच दिन अघिदेखि नै सिस्नेरी स्वास्थ्य चौकीमा प्रसूतिका लागि भर्ना भए पनि प्रसूति गराउन नसकिएपछि गाउँपालिकाले उनीहरूको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई खबर गरेको थियो । शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी र पहिरोले मकवानपुरका विभिन्न गाउँपालिकाबाट सदरमुकाम हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने अधिकांश सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेको छ ।