किसानले खेतमा रोपेको धान, पोखरीमा पालेको माछा र बारीमा फलाएको तरकारी बाढीले बगायो, १७ जिल्लाका किसानले गोठमा बाँधेका २६ हजारभन्दा बढी पशुपक्षीको मृत्यु, फलफूलका बगैँचासमेत मासिए
अविरल वर्षापछिको बाढीपहिरो र डुबानले कृषि क्षेत्रमा करिब ६ अर्बभन्दा बढीको क्षति पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक आकलन छ ।
स्थानीय तह, प्रदेश, निर्देशनालयलगायत परिचालन गरी संकलन गरेको तथ्यांकमा खेतमा लगाएको बाली, गोठमा रहेका पशुपक्षी र पोखरीमा रहेका माछासमेत नष्ट भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, खेतीयोग्य जमिनको कटान, कृषि पूर्वाधारमा क्षति, आपूर्ति शृंखलामा अवरोधलगायतका माध्यमबाट कृषि क्षेत्रले ठुलो नोक्सानी व्यहोरेको मन्त्रालयबाट संकलित तथ्यांकमा देखिन्छ ।
कृषिमन्त्री रामनाथ अधिकारीले क्षतिको प्रारम्भिक तथ्यांक नै डरलाग्दो देखिएको बताए । ‘बाढीपहिरोले कृषि क्षेत्रमा अनपेक्षित नोक्सानी गरेको प्रारम्भिक तथ्यांकबाटै देखिन्छ,’ उनले भने, ‘सबै संयन्त्रहरू यतिवेला क्षतिको विस्तृत तथ्यांक संकलनका लागि खटिएका छन् । त्यसैले अन्तिम तथ्यांक आएपछि क्षति व्यहोरेका किसानका पक्षमा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबारे छलफल थाल्नेछौँ ।’
प्रारम्भिक तथ्यांकअनुसार धानबाली लगाएको १३ लाख ७८ हजार हेक्टरमध्ये बाढीले ५८ हजार चार सय ७६ हेक्टरमा पूर्ण क्षति गरेको छ । उक्त खेतमा उब्जनी हुने तीन अर्ब ५० करोड रुपैयाँबराबरको धानमा किसानले क्षति नोक्सानी व्यहोरेको मन्त्रालयको तथ्यांक छ । तुलनात्मक रूपमा कम रोपाइँ भएको यो वर्ष बाढीले थप क्षति गरेपछि धानको राष्ट्रिय उत्पादनमै असर पर्ने देखिएको छ ।
सबैभन्दा धेरै धान उत्पादन हुने मधेशका आठवटै जिल्लामा बाढीले गरेको क्षतिका कारण उब्जनीमा ठुलो चिन्ता थपिएको कृषिमन्त्री अधिकारीले बताए । ‘वर्षभरि खाने अन्नपात नोक्सानी हुँदा किसानको रोजीरोटी नै खोसिन सक्ने जोखिम बढेको छ,’ उनले भने ।
मन्त्री अधिकारीले क्षतिको पूर्ण विवरण आएपछि मन्त्रिपरिषद् बैठकमा राहत वितरणबारे विस्तृतमा छलफल हुने बताए । ‘क्षतिको अन्तिम तथ्यांक आएपछि राहत वितरणको विषयमा हामी गम्भीर ढंगले अघि बढ्छौँ,’ उनले भने, ‘किसानका समस्यालाई सम्बोधन गरेर राज्य रहेको प्रत्याभूति दिन हामी क्रियाशील हुनेछौँ ।’
मन्त्रालयका अनुसार मधेशका आठसहित नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेमा लगाइएको धानबालीमा धेरै नोक्सानी भएको छ ।
कहाँ कति भयो क्षति ?
- ५८ हजार ४७६ हेक्टरमा लगाइएको तीन अर्ब ५० करोडको धानबाली नष्ट (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा नोक्सानी)
- चार सय ५८ हेक्टरमा लगाइएको माछापोखरीमा एक अर्ब १३ करोडको क्षति (धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका माछापोखरी पूर्ण रूपले नोक्सानी)
- खोटाङ जिल्लामा मात्रै १३ सय हेक्टरमा लगाइएको ७० करोडको अलैँचीमा क्षति
- पर्सामा ८५ हेक्टरमा लगाइएको ३५ करोडको उखुखेतीमा क्षति
- १६ करोडबराबरको सरकारी कार्यालयको भौतिक संरचनामा असर (लालबन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसिकोट, फिकल, कीर्तिपुर, मार्फा, नवलपुरको कार्यालयमा बाढी पस्यो)
- पाँचथर, धनकुटा र तेह्रथुमका २४ पशुगोठमा क्षति
- मधेशका आठ जिल्लासहित पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा र ललितपुरमा बाढीले बगाएर २६ हजार दुई सय पाँच पशुपक्षीको मृत्यु
- कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटको २२ हेक्टर फलफूल बगैँचा क्षतिग्रस्त, दुईवटा कोल्डस्टोरमा क्षति
- खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा र पर्सामा चार हजार ७४३ हेक्टरमा लगाइएको तरकारी बाली नष्ट
अब राहतमा जुट्छौँ : रामनाथ अधिकारी, कृषिमन्त्री
क्षतिको अन्तिम तथ्यांक आएपछि सम्बोधनका लागि मन्त्रिपरिषद्मा विस्तृत छलफल गर्नेछौँ । हामीसँग भएको बजेटबाटै सम्बोधन गर्ने हो कि होइन भन्ने कुराको टुंगोमा पुग्नेछौँ । क्षतिलाई सम्बोधन गर्ने अरू विकल्प के हुन सक्छन्, त्यहीअनुसार अघि बढ्छौँ ।
अन्तिम तथ्यांक आएपछि राहत वितरणको विषयमा हामी गम्भीर ढंगले अघि बढ्छौँ । किसानको बारीमा लगाएको धानखेती पूर्ण रूपले नष्ट भएका विवरणहरू आएका छन् । वर्षभरि खाने अन्नपात नोक्सानी हुँदा रोजीरोटी नै खोसिन सक्छन् । यस्ता विषयलाई सम्बोधन गरेर राज्य रहेको प्रत्याभूति दिन हामी क्रियाशील हुनेछौँ ।
८१ औद्योगिक ग्रामको पूर्वाधार र कच्चा पदार्थमा भएको क्षति विवरण संकलन
बाढीपहिरोले जनजीवन प्रभावित बनाएसँगै औद्योगिक क्षेत्रमा पनि क्षति पुर्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हालसम्म ८१ औद्योगिक ग्राममा क्षति पुगेको तथ्यांक संकलन भएको छ । मन्त्रालयले देशभरका औद्योगिक क्षेत्रमा पुगेको क्षतिको विवरणबारे तथ्यांक संकलन गरिरहेको छ ।
पाटन औद्योगिक क्षेत्रमा १२ वटा उद्योगको मेसिन र औद्योगिक कच्चा पदार्थ तथा तयारी मालवस्तुमा क्षति भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, भक्तपुर औद्योगिक क्षेत्रमा चार लाख १९ हजारबराबरको औद्योगिक कच्चा पदार्थ तथा तयारी मालवस्तुमा क्षति भएको छ । निजी उद्योग तथा प्रतिष्ठानहरूमा भएको क्षतिको विवरण प्रदेश सरकारका सम्बन्धित मन्त्रालय र उद्योग विभागमार्फत संकलन भइरहेको मन्त्रालयले जनाएको छ ।
फर्म तथा व्यवसायहरूको क्षतिको विवरण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत संकलन भइरहेको उल्लेख छ । आपूर्ति शृंखला व्यवस्थापन सम्बन्धमा खाद्यान्न आपूर्तिको हकमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनबाट खाद्यान्न ढुवानी, सुपथ मूल्य सञ्चालन तथा बजार अनुगमनसम्बन्धी कार्य भइरहेको भनिएको छ । विपत् प्रभावितलाई खाद्यान्न उपलब्ध गराउन तयारी अवस्थामा राखिएको उल्लेख छ ।
१२ असोजमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा वाणिज्य तथा आपूर्ति सचिव र नेपाल आयल निगमका पदाधिकारीसहितको टोलीले काठमाडौं– ललितपुरको च्यासल क्षेत्रमा बगेर आएको ग्यास बुलेटको स्थलगत निरीक्षण गरेको थियो ।
१३ असोजमा मन्त्रालय र मातहतका निकाय प्रमुखहरू बैठक बसी विपत्ले पारेको क्षति र आपूर्ति व्यवस्था सुनिश्चित गर्नका लागि निर्णय भएको थियो ।
आगामी वर्षबाट आर्टिफिसिएल इन्टेलिजेन्सका माध्यमबाट पहिरोको पूर्वसूचना प्रणाली लागू गरी मोबाइल एप्सबाट सर्वसाधारणलाई जानकारी गराइने कार्ययोजनामा उल्लेख छ ।