सबैको सम्मान गर्नु, उदार भावना राख्नु र प्राकृतिक जीवन रोज्नु नै खुसी जीवनको आधार हो
खुसी सबैले चाह राख्ने सम्भवतः एक असाधारण विषय हो । खासमा खुसी के हो ? सायदै यसको वस्तुपरक उत्तर भेटिएला । तथापि, साधारण भाषामा भन्नुपर्दा खुसी एक प्रकारको मनको अवस्था हो, जहाँ मानिस आफ्नो जीवनपथसँग सन्तुष्ट रहेका हुन्छन् । मानिसका भावनात्मक अवस्था सकारात्मक हुन्छन् । जब मानिस खुसी हुन्छ, तब उसले अधिक मानसिक तथा सामाजिक कल्याण महसुस गर्छ । ठिक विपरीत, जब बेखुसी हुन्छ, मानसिक र सामाजिक दुवै सन्तुष्टिमा ह्रास आएको महसुस गर्छ । यस सन्दर्भमा वास्तवमा खुसी के हो त ? के कुराले मानिसलाई खुसी दिन्छ ?
खुसी कसरी प्राप्त गर्न सकिन्छ ? आजकाल यी र यस्तै कुराका विषयमा प्राज्ञिक बहस पनि खुबै हुने गरेका छन् । यसबारे विभिन्न खाले अध्ययन तथा अनुसन्धान पनि भएका छन्, हुँदै पनि गरेका छन् र भविष्यमा पनि हुने नै छन् । खुसी प्राप्तिका लागि भौतिक समृद्धि आवश्यक छ कि सामाजिक संगति अपरिहार्य छ ? यस आलेखमा यही सरेफेरोका सन्दर्भ तथा अनुसन्धान सामग्रीको विश्लेषण एवं समीक्षा गरी केही दृष्टन्तको चर्चा गरिएको छ ।
खुसी कसरी प्राप्त गर्न सकिन्छ त ?
आजको विश्वमा खुसी तथा खुसीमापक सूचकका सन्दर्भमा विभिन्न अध्ययन तथा अनुसन्धान भएका छन् । अनुसन्धानकर्ताबिच खुसीका विश्वव्यापी सूचकबारे एक मत भने भेटिँदैन । के हासिल गर्दा मानिसले उच्च खुसी महसुस गर्छन् ? यसबारे पनि फरक–फरक दृष्टिकोण र अनुभव भेटिन्छन् । कसैले आकर्षक रोजगारी र सुविधासम्पन्न घरजस्ता भौतिक समृद्धिको खाँचो पर्ने बताउँछ भने कोही सार्वत्रिक सामाजिक सुरक्षा, जस्तो कि स्वास्थ्य, शिक्षा, सुशासन तथा स्वतन्त्रताजस्ता सामाजिक संगतिको सुनिश्चितताको वकालत गर्छन् । त्यसो त केही भने स्वस्थ सामाजिक सम्बन्ध तथा मनोरम प्रकृतिको अवधारणा राख्छन् । खुसी पूर्ण रूपमा वस्तुपरक तथा अवस्था विशेष विषय हो । यसर्थ कोही भौतिक सम्पन्नता, कोही छनोटको स्वतन्त्रता त कोही समाजिक संगतिले आफूलाई खुसी दिने मान्छन् । कोही भने सबैको पर्याप्ततालाई खुसीको आधार मान्छन् ।
के पैसाले खुसी किन्न सकिन्छ ?
सहज उत्तर हुन्छ– सकिन्छ । किनभने पैसाले भौतिक सुविधामा पहुँच पुर्याउँछ । असीमित मानवीय इच्छा र आवश्यकता पूरा गर्न पैसाको भूमिक अहं रहन्छ । के मानिसको आम्दानी र खुसीबिच सकारात्मक सम्बन्ध रहन्छ त ? अर्थात्, आम्दानी बढ्दै जाँदा मानिसको खुसीमा पनि वृद्धि हुँदै जान्छ त ? त्यसो कति पैसाले खुसी दिन सक्छ त ? यसको सहज उत्तर भने छैन । अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका अनुसन्धानकर्ता ड्यानियल खनमेन र अंगस डिटनको सन् २०१० को एक अध्ययनअनुसार व्यक्तिको आम्दानी वृद्धि हुँदा उसको खुसीमा पनि वृद्धि हुन्छ । तर, आम्दानी एक स्केलभन्दा माथि पुग्दा, आम्दानी बढे पनि उसको खुसी स्थिर रहन्छ या बढ्दैन । अमेरिकी परिवेशमा गरिएको सो अध्ययनअनुसार वार्षिक ७५ हजार अमेरिकी डलर आम्दानी हुँदासम्म खुसी पनि बढ्ने त्योभन्दा माथि भने आम्दानी बढे पनि खुसी भने स्थिर रहने निष्कर्ष निकालिएको थियो । फेरि २०२१ मा वरटन स्कुल अफ बिजनेसका अर्का अनुसन्धानकर्ता म्याथ्यु किलिंग्सवोर्थले गरेको अध्ययनले भने आम्दानी बढ्दै जाँदा खुसी पनि बढ्दै जाने निष्कर्ष निकाल्यो । किलिंग्सवोर्थका अनुसार वार्षिक ७५ हजार डलरभन्दा बढी आम्दानी हुँदा पनि खुसी बढ्छ । यी दुई अध्ययनबिच फरक–फरक निष्कर्ष निस्किएकाले एक किसिमको विवादजस्तै भयो । सो विवादलाई मिलाउन पेन्सिलभेनिया विश्वविद्यालयकी प्राध्यापक बारबारा मिलर्ससहित खनमेन र किलिंग्वोर्थले संयुक्त अध्ययन गरे । उनीहरूले संयुक्त रूपमा गरेको अध्ययनले मानिसले आम्दानी वृद्धिसँगै खुसीमा पनि वृद्धि भएको महसुस वार्षिक एक लाख डलर कमाउँदासम्म गर्छ । सोभन्दा बढी आम्दानी गर्दा आम्दानी बढे पनि मानिसको खुसी नबढ्ने या खुसीमा सीमान्त रूपमा ह्रास आउने निष्कर्ष निकालियो । यी तीन अध्ययनको निष्कर्षले के देखाउँछ भने आम्दानी या पैसा खुसीको साधन हो, तर साध्य भने होइन । मानिसको खुसी पैसा या भौतिक सम्पन्नताले मात्र प्राप्त नहुन सक्छ ।
के सामाजिक संगतिले खुसी बढाउँछ त ?
यसको उत्तर खोज्न एकपटक ब्लु जोनको अनुभवको समीक्षा गरौँ । अमेरिकी अनुसन्धानकर्ता ड्यान ब्युटनर्सले विश्वको सबैभन्दा खुसी, स्वस्थ र दीर्घजीवन भएका मानिसहरू बसोवास गर्ने क्षेत्रलाई ‘ब्लु जोन’ भनेर परिभाषित गरेका छन् । ब्युटनर्सका अनुसार जापानको ओकिनावा, इटलीको सार्रडिनिया, ग्रिसको अकारिया, कोस्टरिकाको निकोया र क्यालिफोर्निया अमेरिकाको लिमा लिन्डा ब्लु जोन क्षेत्र हुन् । यहाँ बसोवास गर्ने मानिस सम्भवतः विश्वमै सबैभन्दा धेरै खुसी छन् । उनीहरू सबैभन्दा स्वस्थ पनि छन् । उनीहरू दीर्घजीवी छन् । यिनको खुसीमय जीवनका मुख्य तीन कारण छन् । पहिलो, सामाजिक सहयोग । यहाँका मनिस आफ्नो आफन्त, छरछिमेक, समुदाय अदिबाट भावनात्मक र सूचनात्मक संगति प्राप्त गर्छन् । दोस्रो, छनोटको स्वतन्त्रता । सरकार र स्थानीय प्रशासनबाट आर्थिक, सामाजिक अवसरका साथै पारदर्शी शासनमार्फत व्यक्तिगत क्षमता अभिवृद्धिमा सहयोग प्राप्त भएको बताउँछन् । तेस्रो उदारताको संस्कृति । यी मानिस निःस्वार्थ भावनाले भरिपूर्ण छन् । यिनीहरू सधैँ मेरो आजको कर्मले कसरी अरूलाई फाइदा पुर्याउन सकिन्छ भन्ने भावनले प्रेरित छन् ।
के छ त विश्वकै खुसी देशको अनुभव ?
विश्व खुसी रिपोर्ट ०२४ का अनुसार फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देश हो । सो रिपोर्टअनुसार नेपाल ९३औँ स्थानमा छ । विभिन्न ६ सूचक, जस्तै– जिडिपी, परक्यापिटा, सामाजिक सहयोग, स्वस्थ जीवन प्रत्यासा, स्वतन्त्रता, उदार भावना, भ्रष्टाचार एवं मानिसको अनुभव विश्लेषणका आधारमा यो रिपोर्ट तयार पारिन्छ । यसै क्रममा मनोवैज्ञानिक मार्टेला फ्र्यान्कको २०२३ को एक प्रकाशनअनुसार फिन्स (फिनल्यान्डका नागरिक) हरू खुसी हुनका तीन कारण छन् । पहिलो, फिन्सहरू कहिल्यै आफ्नो तुलना छिमेकीसँग गर्दैनन् । दोस्रो, उनीहरूले प्रकृतिको महत्वलाई कहिल्यै नजरअन्दाज गर्दैनन् । तेस्रो, उनीहरूले आफ्नो समुदायको विश्वमा कहिल्यै कमी हुन दिँदैनन् । यसो त, हार्वर्ड विश्वविद्यालयको ०२३ मा प्रकाशित करिब ८५ वर्ष लामो अध्ययनको निष्कर्षले पनि खुसी पेसामा सफलता, पैसा, खाना आदिले दिँदैन, सामाजिक तन्दुरुस्तीले दिन्छ भनेको छ । हामी सबै एक–अर्काबिचको सकारात्मक तथा उदार सम्बन्धले सबैको खुसी तथा स्वस्थ जीवनको मार्गनिर्देश गर्छ ।
अन्त्यमा
मानिस त्यतिवेला खुसी हुन्छ, जतिवेला उसका सम्पूर्ण इच्छा पूरा हुन्छन् । यसको ठिक विपरीत, जब इच्छा पूर्ति हुँदैनन्, बेखुसी हुन्छ । बेखुसीले पीडा दिन्छ । यही पीडा नै रोगको उत्पत्तिको कारक बन्न सक्छ । यसर्थ खुसी हुने पहिलो सर्त महत्वाकांक्षी इच्छामा कटौती गर्नु हो । सबैको कर्म र भाग्य अलग–अलग हुन्छ । सबैको जीवन भोगाइ अद्वितीय हुन्छ । अनुभव फरक–फरक हुन्छ । त्यसैले हरेकले अर्कोसँग तुलना गर्नु भनेको बेखुसी बन्नु हो । आजको युग सामाजिकशास्त्री ऐमिल डुरकाइमले भनेजस्तै जैविक एकताको हो । जसमा हामी सबै एक–अर्कासँग अन्तरनिर्भर छौँ । तसर्थ, सबैको सम्मान गर्नु, उदार भावना राख्नु र प्राकृतिक जीवन रोज्नु नै खुसी जीवनको आधार हो ।
(ओझा अमेरिकास्थित मिनेसोटा नर्थ कलेजमा प्राध्यापनरत छन्)